काठमाडौं , फागुन २५
चितवनमा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खैरहनी नगरपालिका घर भई हाल रत्ननगर नगरपालिका–७ का ३५ वर्षीय सुरेश महतो रहेका छन् ।
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अबिनास थापा मगरका अनुसार रत्ननगर –७ को लौखानीमा रहेको चितवन एडभेन्चर होटल पछाडि महतोलाई शनिबार हात्तीको आक्रमण गरेको हो । ‘गोविन्दे’ नाम गरेको जंगली हात्तीको आक्रमणबाट महतोको मृत्यु भएको निकुञ्जका सूचना अधिकारीले जानकारी दिए ।
उनलाई हात्तीले शुक्रबार रातको समयमा आक्रमण गरेको र शनिबार शव भेटिएको सूचना अधिकारी थापामगरले बताए । ‘गोविन्दे’ हात्तीले गत १७ असोजमा हात्ती प्रजनन केन्द्र खोरसोरका कर्मचारी ३६ वर्षीय जद्दु सिंह थारुलाई आक्रमण गरेर मारेको थियो । चालु आर्थिक वर्षमा वन्यजन्तुको आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ ।
तपाईको प्रतिक्रिया


