चितवनको पर्यटकीय नगरी सौराहा क्षेत्रको सौन्दर्यीकरणका लागि आकर्षक सडक निर्माण गरिएको छ ।
रत्ननगरको टाँडीबाट दक्षिण लागेपछि चित्रसारी पुलदेखि सौराहाको मुख्य क्षेत्र जोड्ने सडक र राप्ती नदीकिनारबाट पूर्वतर्फ बछ्यौली जाने दुई सडकलाई सौन्दर्यीकरण गरिएसंगै साईकल लेन छुट्याईएको छ ।
सघन सहरी तथा भवन निर्माण कार्यालय भरतपुरमातहतमा दुई खण्डमा अलग अलग निर्माण कम्पनीले सडक निर्माण गरेका छन् । साइकल लेन, फरकिलो फुटपाथ, कालोपत्रेसहितको सडक निर्माण भएको सघन सहरी तथा भवन निर्माण कार्यालय भरतपुरका प्रमुख झपटबहादुर थापाले जानकारी दिनुभयो । करिब तीन किलोमिटर लम्बाइको सडक निर्माणपछि सौराहाको मुहारै फेरिएको पर्यटन व्यवसायीले बताएका छन् ।
चित्रसारी पुलदेखि सौराहाको प्रवेश बिन्दुसम्म एक किलोमिटरका लागि तीन करोड १७ लाख ५४ हजार ७२४ रुपियाँ बजेट खर्च भएको सघन सहरी तथा भवन निर्माण कार्यालय भरतपुरका इन्जिनियर सुदन खतिवडाले जानकारी दिनुभयो ।


