बैशाख २६, काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेशका अनिल परियारको शव चितवन मेडिकल कलेजबाट पोष्टमार्टमको लागि भरतपुर अस्पताल लगिएको छ ।बागमती प्रदेशका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मिलनबाबु श्रेष्ठको रोहवरमा परियारको शव पोष्टमार्टम गर्न कार्यकर्ताहरुले सहमति दिएका हुन् । सत्यतथ्य पत्ता लगाई दोषीलाई कारबाहीको लागि पहल गर्ने श्रेष्ठले आश्वासन दिएपछि परियारको शव चितवन मेडिकल कलेजबाट निकाल्न दिइएको हो ।
भरतपुरको चितवन मेडिकल कलेजअघि हत्यामा संलग्नलाई पक्राउको माग गर्दै विरोध प्रदर्शन भएको थियो । हत्याको विरोधस्वरुप भरतपुरमा भएको एक घन्टाको चक्काजाम खुलेको प्रहरीले जनाएको छ ।
भरतपुर महानगरपालिका–७, कृष्णपुरमा गए राति करिव ७ः३० बजे अज्ञात समूहको छुरा प्रहारबाट परियारको मृत्यु भएको चितवन प्रहरीले जनाएको छ । नेपाली कांग्रेस चितवनलगायत भातृसंगठनहरुले विज्ञप्ति जारी गरी दोषीलाई कानुनी दायरामा ल्याउन माग गरेका छन् ।
यता नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता विष्णुकुमार केसीले चितवनमा नेपाली काँग्रेसका नेता अनिल परियारको हत्या घटना निर्वाचनसँग सम्बन्धित नभएको बताएका छन् । घटना व्यक्तिगत ‘रिसिइवी’का कारण भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए ।
‘घटनाको अनुसन्धान हाम्रो टोली (प्रहरी) ले गरिरहेको छ । घटनाबारे विस्तृत विवरण आउन त अनुसन्धान सकिनुपर्छ । तर, व्यक्तिगत रिसिइवीले घटना भएको देखिन्छ । निर्वाचनसँग सम्बन्धित छैन’,प्रवक्ता केसीले भने ।उनले घटनामा संलग्नको पहिचान भइसकेको पनि बताए । नियन्त्रणमा लिन भने बाँकी रहेको उनको भनाइ छ ।


