‘सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः । सर्वे भद्राणि पश्यन्तु मा कश्चिद दःखभाग्जनः’ भन्ने आदर्श बोकेको गोरखापत्रको प्रकाशन वैशाख २४ गते बुधबार १२५ औँ वर्षमा प्रवेश गरेको छ ।
यसै दिन राष्ट्रिय पत्रकारिता दिवससमेत मनाउने गरिन्छ । मुलुककै जेठो समाचारमूलक पत्रिका गोरखापत्रको प्रकाशन आरम्भ भएको विसं १९५८ वैशाख २४ गतेको स्मरणमा हरेक वर्षको वैशाख २४ गते राष्ट्रिय पत्रकारिता दिवस मनाइन्छ । विसं २०७३ देखि राष्ट्रिय पत्रकारिता दिवस मनाउन सुरु गरिएको हो ।
एक शताब्दीभन्दा लामो इतिहास बोकेको गोरखापत्र मुलुकको गौरवशाली प्रकाशन हो । गोरखापत्र प्रकाशनको प्रारम्भदेखि १९९१ साल वैशाख ८ गतेसम्म हप्ताको एक दिन सोमबार र त्यसपछि २००१ साल असोजसम्म बुधबार प्रकाशन हुन थाल्यो । पछि साताको दुई र तीन पटक हुँदै २०१७ साल फागुन ७ बाट दैनिक भएको हो ।
गोरखापत्र स्थापना दिवसकै अवसर पारेर राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, प्रतिनिधि सभाका उपसभामुख इन्दिरा रानामगर, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल, राष्ट्रिय सभाका उपसभामुख विमला घिमिरे, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायतले शुभकामना दिनुभएको छ ।



