बैशाख २८ , काठमाडौं । किरण नेपालीको निर्माण रहेको चलचित्र ‘२ नम्बरी’ को छायांकन सकिएको छ ।दयाहाङ राई र सौगात मल्लको मुख्य भूमिका रहेको चलचित्र ‘२ नम्बरी’२८ औं दिनमा पोखरामा इन्डकल्याप भएको हो ।
प्रस्तुतकर्ता किरण नेपालीका अनुसार छायांकन सकिएसँगै कास्ट एण्ड क्रिउ बुधबार काठमाडौं फर्किने तयारीमा छन् । वैशाख पहिलो सातादेखि कास्कीको ल्वाङ गाउँबाट छायांकन सुरु भएको फिल्मलाई पोखरा आसपासमा सुट गरिएको थियो ।

दीपेन्द्र लामाले निर्देशन गरेको चलचित्रमा उगेन छोदेन र उपासना सिंह ठकुरीको समेत मुख्य अभिनय छ । मित्रताको कथा पेश गर्ने चलचित्र ‘२ नम्बरी’ कात्तिक ४ गते प्रदर्शनको तयारीमा छ ।कोरोना महामारीको कारण दुई वर्ष अवरुद्ध भएको छायांकन कथा र कलाकारमा हेरफेरसहित पुनः छायांकन भएको हो । गण्डकी प्रदेशका खेलकुदमन्त्री राजीव गुरुङ निर्माताको रुपमा छन् ।
चलचित्रको केही प्रतिशत अभिनय गरेका अभिनेता पल शाह नाबालिग करणीको आरोपमा न्यायिक हिरासतमा रहेको र चलचित्रका अर्का कलाकार जयनन्द लामा स्वर्गीय भएकाले फिल्मको छायांकन सुरुवातबाटै गरिएको थियो । चलचित्रमा पलको स्थानमा सौगात मल्ल, वर्षा रावतको स्थानमा उपासना सिंह ठकुरी र जयनन्द लामाको स्थानमा रोल मिलाएर कविता आलेलाई कास्ट गरिएको छ ।


