काठमाडौं । सर्वोच्च अदालतले गौर हत्याकाण्डको पुनः गहन अनुसन्धान गर्न परमादेश दिएसँगै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव राजनीतिको नयाँ चेपुवामा परेका छन् ।
राजनीतिक मुद्दा कि गैरन्यायिक हत्या भन्ने बहसबीच अध्यक्ष यादवलाई सर्वोच्चले गहन अनुसन्धानको दायरामा ल्याउनुलाई अनेक अड्कलबाजीसँग जोडेर हेरिएको छ ।
पछिल्ला दिनमा गठबन्धन सरकारमै रहेर सत्ता नेतृत्वलाई एकपछि अर्को चुनौती दिँदै आएका यादवलाई सर्वोच्च अदालतले परमादेशमार्फत कानुनी औंला उठाउनुलाई राजनीतिक प्रतिशोधमा अदालतलाई हतियार बनाइएको भन्दै जसपाले प्रतिरोध गर्ने भएको छ ।
जसपाका अध्यक्ष यादवले अदालतलाई अनुसन्धानमा सघाउन आफू तयार रहेको बताए पनि पार्टी पंक्तिभित्र यसको प्रतिरोध गर्नुपर्ने आवाज उठिरहेको छ ।
यादव र सत्ता बार्गेनिङ
सत्ता गठबन्धनमै रहेर सत्तारूढ दल नेपाली कांग्रेस र नेकपा एमालेको सहमतिमा आएका भूमि विधेयकदेखि महत्वपूर्ण मुद्दाहरूमा असहमति जनाएका कारण यादवले आफूलाई निसानामा पारिएको बताउँदै आएका छन् । यादवले आफू गठबन्धन छोड्नुपर्ने अवस्थामा पुगेको पनि बताउँदै आएका छन् । अदालत लगाएर आफूलाई तर्साइएको भन्ने यादवलाई लागेको छ ।
आदेश नपाउँदा अलमल
सर्वाेच्च अदालतले गौर हत्याकाण्डका विषयमा पुनः अनुसन्धान थाल्न बाध्यकारी (परमादेश) आदेश जारी गरेको छ । तर, अदालतले सो परमादेशको संक्षिप्त आदेशसम्म नदिएका कारण घटनामा संलग्न भनिएका व्यक्तिमाथि कसरी अनुसन्धान अघि बढाउने भन्ने अन्योल भएको प्रहरीको भनाइ छ ।
नेपाल प्रहरी उच्च स्रोतका अनुसार घटनामा मुख्य संलग्नता भनिएका जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलगायतमाथि के आधारलाई टेकेर अनुसन्धान गर्ने भनेर अदालतको लिखित आदेश प्राप्त भएपछि मात्र अनुसन्धान अघि बढाउने तयारी छ ।
अदालतले आदेश दिएलगत्तै पक्राउका लागि सक्रियता देखाएको प्रहरीले अन्ततः अदालतको आदेशमा के छ भनेर हेर्न नपाएको भन्दै आदेश नपाएसम्म कुनै व्यक्ति विशेषलाई पक्राउ नगर्ने रणनीति लिएको छ ।
मण्डलादेखि मधेशसम्म प्रदर्शन
जसपा अध्यक्ष उपेन्द्र यादवमाथि प्रतिशोधपूर्ण र पूर्वाग्रही ढंगले अदालत सक्रिय भएको भन्दै यादव समर्थित कार्यकर्ताले काठमाडौं उपत्यकाको माइतीघर मण्डलादेखि मधेशका विभिन्न ठाउँमा प्रदर्शन गरेका छन् ।
राजनीतिक प्रतिशोधको कडा प्रतिकार गर्ने घोषणा गरेका यादव समर्थित कार्यकर्ताले अरूको स्वार्थमा आफूहरूको राजनीतिक मुद्दालाई अल्झाउने र बल्झाउने गर्न नदिने चेतावनी दिँदै आएका छन् ।
गौर काण्डको विषयलाई लिएर सर्वोच्चले परमादेश दिएपछि अप्ठेरो अवस्थामा पुगेका यादवलाई आमजनता पार्टीबाहेकका अधिकांश राजनीतिक दलले साथ दिने संकेत गरेका छन् । तर, उनीहरूले अदालतले अनुसन्धान गर्नु भनेका कारण खुलेर यादवको पक्षमा भने देखिन चाहेका छैनन् ।
अदालतमा आफ्नो प्रभाव नभएको ओली जिकिर
यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीले घुमाउरो हिसाबले अदालतमा आफ्नो प्रभाव नभएको सन्देश दिएका छन् । राष्ट्रिय सूचना आयोगले आयोजना गरेको १९औं सूचना दिवसका सन्दर्भमा बोल्दै प्रधानमन्त्री ओलीले ‘अदालतले प्रधानमन्त्री हटाइदिएको र बनाइएदिएको पनि अनुभव छ, भर्खरै मात्र हामीले व्यहोरेकै हौं, धन्न कोर्ट मार्सलचाहिँ भएन’ भन्दै घुमाउरो हिसाबले आफ्नो प्रभाव र संलग्नता नभएको सन्देश दिएका छन् ।
के थियो घटना ?
गौर घटना १९ वर्षअघि रौतहटको गौरमा मधेशी जनअधिकार फोरमका कार्यकर्ता र माओवादीको तराई मधेश मुक्ति मोर्चाबीच भएको भिडन्तको उत्कर्ष हो । २७ जनाको ज्यान जानेगरी भएको घटना फोरम र मुक्ति मोर्चाबीचको विवादको उत्कर्ष थियो ।
राष्ट्रिय मानवअधिकार आयोगले फोरम कार्यकर्ताहरूले माओवादी कार्यकर्तालाई नियन्त्रणमा लिएर हत्या गरेको निष्कर्षसहितको प्रतिवेदन ल्याएको थियो । रौतहटको गौरस्थित राइसमिलमा ७ चैत २०६३ मा एकैदिन पारेर फोरम र मुक्ति मोर्चाले कार्यक्रम गरेपछिको भिडन्तमा २७ जनाले ज्यान गुमाएका थिए ।राजधानीबाट



