जेठ ३ , चितवन । नेकपा माओवादी केन्द्रका माडी नगर उपाध्यक्ष सन्तोष पनेरुले पदबाट राजिनामा दिनुभएको छ ।स्थानीय तहको निर्वाचन अन्तरगत नगरप्रमुख पदमा नेकपा (माओवादी केन्द्र)बाट ऋषिराम काफ्ले पराजित भएसंगै आफूले नैतिकताका आधारमा राजिनामा दिएको पनेरुले सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्नुभएको हो ।
काफलेलाई नगरप्रमुखको उम्मेदवार बनाउने सिफारिस गराउन पार्टीको माडी नगर कमिटिमा र टिकट दिलाउन केन्द्रमा भूमिका खेल्नेमध्येका एक उहाँले नगरप्रमुखको पराजयको सन्दर्भमा ‘आफ्नो भागको असक्षमतालाई सुधार्ने कोशिस गर्ने’ भन्दै नैतिकताका आधारमा राजिनामा दिएको लेख्नुभएको छ ।
माडी नगरपालिकामा माओवादी केन्द्रले बाम लोकतान्त्रिक गठबन्धनभित्र रही ४ वटा वडाध्यक्षमा जीत हासिल गरेको छ । तर जनपरिचित र जनअपेक्षित उम्मेदवार चयन गर्न नसक्दा नगरप्रमुख पद भने गुमाउन पुगेको छ । उम्मेदवार चयनका क्रममा सो पार्टीभित्र व्यापक रस्साकस्सी र विवाद चलेकोमा मनोनयन दर्ता गर्ने दिनको मध्यान्हपख काफ्लेको नाउँमा टिकट आएको थियो ।


