काठमाडौं, मंसिर १५
गत शुक्रबारदेखि प्रदर्शनमा आएको सिनेमा ‘हर्ष’’ले नयाँ गीत ‘पाहुना’ सार्वजनिक गरेको छ । स्वर्गीय निर्देशक शिव रेग्मीको शब्द रहेको यस गीतलाई समीर–हिमालले कम्पोज गरेका छन् भने बसन्त सापकोटाले पुनः प्रतिवादन गरेका छन् । गीतमा गरिमा अधिकारीको स्वर सुन्न सकिन्छ।
गीतको भिडियोमा मुख्य कलाकार साइमन वादीलाई फिचर गरिएको छ । साथै खगेन्द्र लामिछाने, वर्षा राउतलगायत कलाकारको पनि उपस्थिति छ। सिनेमा रिलिजसँगै बाल कलाकार साइमन वादीको अभिनयले दर्शक तथा समीक्षकको ध्यान आकर्षित गरिरहेको छ। उनी विभिन्न हलमा पुगेका दर्शकसँग प्रत्यक्ष भेटघाट र अनुभव आदान–प्रदान गरिरहेको पाइन्छ। अभिनेत्री वर्षा राउत पनि हल–हल पुगेर दर्शक प्रतिक्रिया संकलन गरिरहेकी छन्।
दर्शकले दिएको उत्तम प्रतिक्रियाले आफू उत्साहित भएको वर्षा राउत बताउँछिन्। यसको साथै गत शनिबार पोखरा एभेन्जर्स टिमले पनि सिनेमा हेरेर प्रशंसा व्यक्त गरेको थियो। खेलको दबाबबीच यस्तो refreshing सिनेमा हेर्न पाउँदा रमाइलो लागेको उनको प्रतिक्रिया छ।
सिनेमा एकता पौडेलको निर्देशनमा बनेको हो, जुन उनको डेब्यु निर्देशन पनि हो। उनी स्वर्गीय निर्देशक शिव रेग्मीकी भान्जी हुन्। न्यूयोर्क फिल्म एकेडेमीबाट फिल्ममेकिङ, आमसञ्चारमा स्नातक तथा व्यवस्थापन र नेतृत्व विषयमा स्नातकोत्तर गरेकी पौडेल यसअघि केही छोटा फिल्म निर्माण गरिसकेकी छन्।
सिनेमामा खगेन्द्र लामिछाने, वर्षा राउत, निर शाह, सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, निमा पाण्डे, लुनिभा तुलाधर, अंशु महर्जन, रेनु प्रधान, सुवर्ण थापा, श्रृष्टि महर्जन, सिर्जना नापित र बाल कलाकार साइमन वादीको अभिनय छ।
फिल्मका अन्य प्राविधिक क्रूमा आलोक शुक्ला (छायांकन), समीर–हिमाल, बसन्त सापकोटा, एलिश कार्का (संगीत), लोकेश बज्राचार्य (सम्पादन) तथा सुनिल क्षेत्री र एकता पौडेल (कोरियोग्राफी) छन्।
अष्टलक्ष्मी प्रोडक्सन्स् र ई–प्राइम मुभिजको ब्यानरमा बनेको ‘हर्ष’को कथा स्वयं निर्देशक पौडेलले लेखेकी हुन्। प्रशन्न पौडेल र विकास पौडेल निर्माता तथा हिक्मत चोखाल कार्यकारी निर्माता हुन्। सिनेमाका प्रोडक्सन म्यानेजर इश्वर घिमिरे र मुख्य सहायक निर्देशक कुलदीप शर्मा रहेका छन्।


