काठमाडौं, मंसिर २०
हास्य कलाकार अर्जुन घिमिरे ‘पाँडे’को डेब्यु निर्देशनमा बनेको सिनेमा ‘झरीपछिको इन्द्रेणी’को ट्रेलर सार्वजनिक गरिएको छ। आइतबार राजधानीमा आयोजित एक विशेष कार्यक्रममा २ मिनेट ५५ सेकेन्डको ट्रेलर सार्वजनिक गरियो।
सिनेमाको ट्रेलरले यसको मुख्य कथावस्तु—भ्रष्टाचार र बेथितीविरुद्ध काठमाडौंको माइतीघर मण्डलाबाट एक जेनजी युवाले सुरु गरेको आन्दोलन—प्रस्ट रूपमा चित्रण गरेको देखिन्छ। ट्रेलरले केही समयअघि नेपालमा चर्चामा आएको जेनजी आन्दोलन को झल्को दिने दृश्यसमेत समेटेको छ।
फिल्मले विदेशमा उच्च शिक्षा अध्ययन गर्ने युवाको सपना अपूरो हुँदा उत्पन्न हुने निराशा र त्यसपछि भ्रष्टाचारविरुद्धको संघर्षमा उत्रिने यात्रालाई केन्द्रमा राखेको छ। सार्वजनिक ट्रेलरले दर्शकमाझ राम्रो कौतुहलता जन्माएको छ। कथावस्तु जेनजी आन्दोलनसँग मेल खान गएको विषयमा सोधिएको प्रश्नमा निर्देशक पाँडेलाई भने, “जेनजी आन्दोलन सुरु हुनुअगावै सिनेमाको छायांकन सकिएको थियो, कहीँकतै मिल्न गयो भने त्यो संयोग मात्र हो,” भनी स्पष्ट पारे।
नागराज इन्टरटेन्मेन्ट प्रालीको निर्माणमा तयार भएको यस फिल्मबाट अभिनेता गणेश उप्रेती लामो समयपछि कमब्याक गर्दैछन्। छायांकनका लागि उनी अमेरिकाबाट नेपाल फर्किएका थिए। फिल्ममा गणेश उप्रेतीसँगै रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, सरिता गिरी, देशभक्त खनाल, निर्मल शर्मा, कृष्ण शिवाकोटी, कृष्णभक्त महर्जन, अर्जुन घिमिरे (पाँडे), प्रियना आचार्य (मुन्नी), अंशु महर्जन, राजेन्द्र नेपाली र लक्षणा राईको अभिनय देख्न सकिन्छ।
आगामी पौष ४ गते देशव्यापी रूपमा रिलिज हुने फिल्मबाट विमोचन दवाडी र जेसिका पोखरेलले डेब्यु गर्दैछन्। यसमा बाल कलाकार दिप्सन चिलवालले पनि अभिनय गरेका छन्। साथै, एक गीतमा मोडल अञ्जली अधिकारी र कोरियोग्राफर प्रदीप लामा विशेष भूमिकामा देखिनेछन्।
फिल्मको कथा निर्देशक पाँडे स्वयंको हो भने पटकथा तथा संवाद गणेश कार्की र विशाल घिमिरेले लेखेका छन्। सिनेमाका छायांकार बुद्ध थापा हुन्।अनिशा सेन्दाङ लिम्बु निर्मात्री, अनु थापा, पंकज खड्का, सिर्जना खड्का, सुवास शर्मा र राम कार्की सह–निर्माता तथा लाइन प्रोड्युसरमा योगेश खतिवडा र विनोद कँडेल छन्।


