काठमाडौँ — निर्देशक शोभित बस्नेतको निर्देशनमा बनेको फिल्म ‘पीआर’ को टाइटल गीत ‘पीआर को चक्करले’ सार्वजनिक गरिएको छ। यही शुक्रबारबाट प्रदर्शनमा आउन तयारी अवस्थामा रहेको फिल्मको प्रचार–प्रसारलाई तीव्र बनाउन उक्त गीत रिलिज गरिएको हो।
सार्वजनिक भिडियोमा आर ए सुरज पौडेल, विनिता कार्की, राजन कुँवर, पूजा चौधरी र आश्मा अधिकारीलाई देख्न सकिन्छ। गीतमा मानस राजको संगीत, मानस राज र समिक्षा अधिकारीको स्वर तथा शोभित बस्नेतको कोरियोग्राफी रहेको छ। गीत सलोमा युट्युब च्यानलमार्फत हेर्न सकिन्छ।
सलोन सलिना फिल्म्सको ब्यानरमा बनेको फिल्ममा आर ए सुरज पौडेल, विनिता कार्की, राजन कुँवर, पूजा चौधरी, आश्मा अधिकारी, मस्तानी डागी, विमला खत्री, गणेश बुढाथोकी, म्याक्स बाबु, कृष्ण थापा र नवीन घायल मुख्य भूमिकामा छन्। विशेष भूमिकामा नीर शाह, गौरी मल्ल, रविन्द्र खड्का, उत्तम के.सी. र दिक्पाल कार्की देखिनेछन्।
प्रेम, संघर्ष र आप्रवासनको कथामा आधारित ‘पीआर’ को प्रस्तुति रञ्जित साह र सन्तोष तिवारीले गरेका हुन्। फिल्मका निर्माता लक्ष्मण सापकोटा र प्रदीप दाहाल हुन्। निर्माण पक्षका अनुसार चलचित्रले विदेश जाने नेपाली युवाको सपना, चुनौती र सामाजिक यथार्थलाई मुख्य विषय बनाएको छ।
फिल्मको सम्पादन बन्दे प्रसाद, लेखन गणेश बुढाथोकी, र छायांकन सौरभ सायमी तथा सौरभ लामाले गरेका छन्। वितरण आर आर फिल्म्सले सम्हालिरहेको छ।
गीत सार्वजनिकसँगै निर्देशक शोभित बस्नेतले फिल्मले दर्शकलाई रोमान्स, एक्सन र सामाजिक सन्देशको मिश्रण दिने विश्वास व्यक्त गरेका छन्।



