काठमाडौं , मंसिर २९
गायिका विन्दु परियारले आफ्नै स्वरबद्ध गीतमा पहिलोपटक नृत्य र मोडलिङ गरेकी छिन्। गायक तथा र्यापर आश्मान केसीसँगको सहकार्यमा तयार भएको गीत ‘च्वाप्प मोइ’ को भिडियोमा विन्दु स्वयं फिचर्ड छिन्।
आफ्नो गीतमा नाच्ने सपना यसपटक पूरा भएको बताउँदै विन्दुले भनिन्, “आफ्नो गीतमा नाचौं–नाचौं लाग्थ्यो, यसपटक त्यो सपना पूरा भयो। नाच्ने शैलीको गीत बनाएकी छु। आश्मानजीसँगको कोल्याबले गीतलाई फरकपन दिएको छ।” सबै वर्गका श्रोतालाई लक्षित गरेर गीत तयार गरिएको उनले बताइन्।
गीतमार्फत पहिलोपटक मोडलिङको अनुभव पनि सँगालेको उल्लेख गर्दै विन्दुले समयसापेक्ष र फरक स्वादको गीत बनाउने प्रयास गरेको बताइन्। “म सामान्यतया गाउने शैलीभन्दा अलि भिन्न गीत बनाएकी छु। महोत्सवको सिजन भएकाले गीतले राम्रो प्रतिक्रिया पाउने विश्वास छ,” उनले भनिन्।
‘च्वाप्प मोइ’ विन्दु परियारकै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। डाइनामिक स्टुडियोमा तयार भएको गीतको एरेञ्ज विमल छिनालले गरेका छन्। भिडिओतर्फ मेघनाथ चौधरीको छायाङ्कन, विमला तामाङको शृंगार, मिलन विश्वकर्माको कलर, जीएफएक्स र सम्पादन, रोशन विश्वकर्माको कोरियोग्राफी रहेको छ भने निर्देशन र्यापर आश्मान केसीले गरेका हुन्।


