काठमाडौं , मङ्सिर २९ । माघ २३ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘रमिताको पिरती’ फरक विषयवस्तु र प्रस्तुतिका कारण यतिबेला चर्चामा छ। यसअघि सार्वजनिक भइसकेका पोस्टर र टिजरले दर्शकमाझ चासो बढाइसकेको फिल्मले एक युवतीको जीवन, संघर्ष, प्रेम र त्यसका आरोह–अवरोहलाई कथावस्तु बनाएको छ। नायिका आना शर्माको फरक शैली र गेटअप, साथै टिजरमा देखाइएको प्रस्तुतीले युवापुस्तामाझ फिल्मको विषय लोकप्रिय बन्दै गएको छ।
यसैक्रममा, फिल्मको ‘तिमी भए काफी’ बोलको गीत आज ललितपुरस्थित लाबिम मलमा आयोजित एक कार्यक्रममा सार्वजनिक गरिएको छ। सार्वजनिक गीतको भिडियोमा फिल्मकी मुख्य नायिका आना शर्मा र नव–नायक तथा गायक समीर श्रेष्ठबीचको रोमान्स देख्न सकिन्छ। थाइल्याण्डका रमणीय लोकेशनमा छायांकन गरिएको गीतमा आना र समीर रोमान्टिक अवतारमा प्रस्तुत भएका छन्। भिडियोमा आना खुलेर देखिएकी छिन् भने कोरियोग्राफी र सिनेमाटोग्राफी आकर्षक छ। गीतको भिडियोले आना र समीरबीचको सामिप्यतालाई प्रभावकारी रूपमा चित्रण गरेको छ।
समीर श्रेष्ठकै स्वरमा रहेको यो गीतमा सास्वतको संगीत छ। झोलेको डीओपी रहेको गीतको भिडियोले दर्शकको मन जित्ने विश्वास निर्माण पक्षले लिएको छ।
सुदिप्ताको निर्देशनमा बनेको फिल्मका निर्माता सागर लम्साल हुन्। फिल्ममा आना शर्मा, धिरज मगर, समीर श्रेष्ठ, विनय श्रेष्ठ, गौमाया गुरुङ, पशुपति राई, रेनु योगीत, गियना, थिन्ले लामो लगायतका कलाकारको अभिनय रहेको छ।
सुदिप्ताकै लेखनमा तयार भएको फिल्ममा शिशिर विशाङ्खेको डीओपी, सुनिल सिवाकोटीको सम्पादन र कृतिका बरालको कोरियोग्राफी छ। आना शर्मा र सन्तोष लम्साल कार्यकारी निर्माता रहेको फिल्ममा आरपी प्रोडक्सन, गणेश पाण्डे, सुभाष कोइराला र प्रवेश लामिछाने एसोसिएट निर्माताको रूपमा छन्। फिल्ममा सुशान्त केसी, समीर श्रेष्ठ, महेश काफ्ले, अस्मिता अधिकारी र कुशल पोखरेलको संगीत समावेश छ।


