काठमाडौं, पौष ०९ — हास्य कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ शीर्ष भूमिकामा रहेको चलचित्र ‘गोबर गणेश’ को शीर्ष गीत युट्युबमार्फत सार्वजनिक गरिएको छ। बाबुल गिरी को संगीतमा तयार भएको गीतमा मरिचमान श्रेष्ठ स्वयंको स्वर रहेको छ। क्याची लयमा तयार गरिएको गीतले चलचित्रको कथावस्तु र पात्रको स्वभावलाई प्रस्तुत गर्ने प्रयास गरेको छ।
कमेडी कथावस्तुमा आधारित यस चलचित्रको गीतले दर्शकलाई भरपूर मनोरञ्जन दिने विश्वास निर्माण पक्षले लिएको छ। गीतमार्फत सबै पक्षमा सक्षम देखिने पात्र पढाइमा भने कमजोर रहेको सन्देशलाई व्यङ्ग्यात्मक शैलीमा प्रस्तुत गरिएको छ।
गम्भीर विष्ट को नृत्य निर्देशन रहेको गीतको भिडियोमा मरिचमान केन्द्रमा देखिन्छन्। साथै भिडियोमा वर्षा शिवाकोटी, पूजन घिमिरे ‘पुकु’ र निर्मल शर्मा ले पनि उल्लेख्य स्थान पाएका छन्।
लोकप्रिय टेलिभिजन श्रृंखला निर्माण, निर्देशन र अभिनयमार्फत परिचित बनेका मरिचमान श्रेष्ठले यस चलचित्रमार्फत फिचर फिल्ममा अभिनय डेब्यू गरेका हुन्। चलचित्रको छायांकन सम्पन्न भइसकेको छ भने हाल सम्पादनको काम अन्तिम चरणमा रहेको निर्माण पक्षले जनाएको छ।
बल्छी धुर्बे फिल्म्स को प्रस्तुतिमा निर्माण भइरहेको ‘गोबर गणेश’ मा मरिचमान श्रेष्ठसँगै विनोद न्यौपाने, पदम तामाङ, लक्ष्मीनाथ तिमल्सिना, सन्तोष बानियाँ, सन्दीप लामा, माओत्से गुरुङ, सीतादेवी तिमल्सिना, बुद्धि तामाङ, विशाल पहाडी, रमेश बुढाथोकी र स्वस्तिका लामिछाने लगायत कलाकारको अभिनय रहेको छ।चलचित्र माघ १ गते बाट प्रदर्शनमा आउदै छ।


