काठमाडौं , पौष १० — साइकोलोजिकल थ्रिलर विधामा निर्माण भएको नेपाली चलचित्र ‘द ब्ल्यू लाइट’ को टिजर सार्वजनिक गरिएको छ। क्रिसमसको अवसर पारेर बिहीबार मौरी पिक्चर्स को युट्युब च्यानलमार्फत टिजर सार्वजनिक गरिएको हो।
महेश त्रिपाठी र बेनिशा हमाल को संवादसँगै सुरु हुने टिजरले प्रेम, रोमान्स, हिंसा, प्रतिशोध, हत्या र कानुनी उल्झनलाई एकसाथ प्रस्तुत गर्ने प्रयास गरेको छ। टिजरमा देखाइएका दृश्यहरूले पात्रहरूबीचको अविश्वास, नियत र आक्रमण वरिपरि घुम्ने कथालाई संकेत गर्छन्, जहाँ सबै पात्र एकअर्कालाई सिध्याउने मनोवैज्ञानिक खेलमा फसेका देखिन्छन्।
प्रहरी अनुसन्धानका दृश्यसँगै अपराधका श्रृंखलाबद्ध घटनाहरू टिजरमा समेटिएका छन्। सशक्त ब्याकग्राउन्ड स्कोर, गाढा कलर टोन र तीव्र कटले चलचित्रको डार्क र रहस्यमय वातावरण निर्माण गरेको छ। टिजरले दर्शकलाई सुरुबाटै साइकोलोजिकल थ्रिलको अनुभूति गराउने उद्देश्य राखेको देखिन्छ।
निर्माण पक्षले टिजरसँगै चलचित्रको नयाँ रिलिज मिति पनि सार्वजनिक गरेको छ। यसअघि पुस १० गते प्रदर्शन गर्ने तयारीमा रहेको चलचित्र अब माघ १६ गतेबाट प्रदर्शनमा आउनेछ।
बलिराम चौहान को निर्देशनमा बनेको ‘द ब्ल्यू लाइट’ मा बेनिशा हमाल, अर्पण थापा, आयुसमान देशराज जोशी, सृष्टि श्रेष्ठ, महेश त्रिपाठी र सुरक्षा इटानी प्रमुख भूमिकामा देखिनेछन्। चलचित्रमा बाल कलाकारका रूपमा ग्रिस्मा कटुवाल र सहारा शर्मा को पनि अभिनय रहेको छ।
स्काइफल पिक्चर्स को प्रस्तुतिमा बनेको यस चलचित्रका सह–निर्मातामा भोलानाथ कटुवाल र रमन ग्रे रहेका छन्। कार्यकारी निर्माताको जिम्मेवारी छायाकार नरेन्द्र मैनाली र नायिका बेनिशा हमाल ले सम्हालेका छन्।
चलचित्रको छायांकन नरेन्द्र मैनाली ले गरेका हुन्। आकाश उखेडा मुख्य सहायक निर्देशक, रेलिजा श्रेष्ठ प्रोडक्सन डिजाइनर र दिलीप पन्त निर्माण नियन्त्रकका रूपमा आबद्ध छन्।


