काठमाडौं , पौष १८ — नेपाली चलचित्र ‘गोबर गणेश’को ट्रेलर सार्वजनिक गरिएको छ। निर्माणपक्षले बुधबार काठमाडौंमा विशेष कार्यक्रम आयोजना गर्दै ट्रेलर सार्वजनिक गरेको हो। सार्वजनिक ट्रेलरले गाउँबाट काठमाडौं आएका एक युवकको संघर्ष, सपना र यथार्थबीचको टकरावलाई प्रभावशाली ढंगले प्रस्तुत गरेको छ।
ट्रेलरमा पढाइमा कमजोर एक गाउँले युवकले आफ्नो जीवन बदल्ने आशामा काठमाडौं प्रवेश गरेपछि भोग्नुपरेका कठिनाइहरू देखाइएको छ। गाउँमा बस्दा कल्पना गरेको चम्किलो काठमाडौं वास्तविकतामा त्यति सहज नरहेको यथार्थ ट्रेलरले उजागर गर्छ। सहर आएपछि उसले आफ्नो जीवन बदल्न फोहोर उठाउने कामलाई विकल्पका रूपमा रोज्नुपरेको अवस्था र त्यसबाट सुरु हुने संघर्षपूर्ण यात्रा ट्रेलरको मुख्य विषय बनेको छ।
फोहोर संकलन गरेर जीवनमा केही गरौँ भन्ने दृढतासँगै युवकले भोग्ने अपमान, अभाव र मानसिक पीडा ट्रेलरमा स्पष्ट देखिन्छ। यसले काठमाडौंको संघर्षशील जीवनशैली मात्र होइन, त्यसले गाउँमा बसेको परिवारका सपना र भावनामा पार्ने प्रभावलाई पनि गहिरो रूपमा चित्रण गरेको छ।
ट्रेलरमा घरमा पुलपुलिएर हुर्किएको छोरो सहरमा आएर आफ्नै कमाइमा बाँच्नुपर्ने बाध्यता, अनि आमाले छोराको दयनीय अवस्था थाहा पाउँदाको भावुक क्षणलाई समेत मार्मिक रूपमा प्रस्तुत गरिएको छ। गाउँबाट सहर छिर्दा देखिएका सपना काठमाडौं आइपुगेपछि कसरी चकनाचुर हुन्छन् भन्ने कथा आम नेपाली युवाको प्रतिनिधि कथाका रूपमा ट्रेलरमा देख्न सकिन्छ।
यसअघि निर्माणपक्षले चलचित्रको शीर्ष गीत सार्वजनिक गरिसकेको छ, जसमा मरिचमान श्रेष्ठको स्वर रहेको छ। गीतले पनि चलचित्रको कथावस्तुलाई भावनात्मक रूपमा सशक्त बनाएको निर्माण टिमको दाबी छ।
चलचित्र ‘गोबर गणेश’ आगामी माघ १ गते प्रदर्शनमा आउने तयारीमा छ। यस चलचित्रलाई मरिचमान श्रेष्ठ (बल्छी धुर्बे)*ले निर्देशन गरेका हुन्। बल्छी धुर्बे फिल्म्सको प्रस्तुतिमा निर्माण भइरहेको चलचित्रमा बल्छी धुर्बेसँगै वर्षा शिवाकोटी, विनोद न्यौपाने, पदम तामाङ, निर्मल शर्मा, लक्ष्मीनाथ तिमलसेना, सन्तोष बानिया, सन्दीप लामा, माओत्से गुरुङ, सीतादेवी तिमल्सिना, पुजन घिमिरे (पुकु), बुद्धि तामाङ, विशाल पहाडी, रमेश बुढाथोकी र स्वस्तिका लामिछानेलगायत कलाकारको अभिनय रहेको छ।
प्राविधिक पक्षमा तारानाथ न्यौपाने चिफ एडिटर रहेका छन् भने योगेश काजी शाहको ब्याकग्राउन्ड म्युजिक, शंकर पाण्डेको प्रोडक्सन, शिवराम श्रेष्ठको डीओपी र विपीन मल्लको सम्पादन रहेको छ। चलचित्रको पब्लिसिटी डिजाइन टौवा स्टुडियोले गरेको हो भने डिजिटल पार्टनरका रूपमा ओएसआर डिजिटल रहेको छ।


