काठमाडौँ । नेपाली समाजको यथार्थ, राजनीतिक विकृति र अन्यायविरुद्ध उठ्ने जनआवाजलाई केन्द्रमा राखी निर्माण गरिएको चलचित्र ‘बिगुल’ को ट्रेलर आइतबार सार्वजनिक गरिएको छ।
रमेश कोइराला निर्देशित तीन मिनेट लामो ट्रेलरमा राजनीतिक खिचातानी, सामाजिक न्याय, पारिवारिक उल्झन, पुस्ताबीचको विचारगत मतभेद, जिम्मेवारीबोध तथा निमुखा जनतामाथि राजनीतिक नेतृत्वले गर्दै आएको खेलबाडलाई प्रभावकारी रूपमा प्रस्तुत गरिएको छ।
देश र जनतालाई पटक–पटक धोका दिँदै आएको राजनीतिक नेतृत्व र त्यसविरुद्ध आवाज उठाउने नयाँ पुस्ताबीचको टकरावलाई केन्द्रमा राखिएको ‘बिगुल’ ले समाजमा ठूलो हलचल ल्याउने संकेत गरेको छ। देशमा आसन्न आम निर्वाचनको सन्दर्भमा फिल्मले उठान गरेका विषयवस्तुले जनमानसलाई सही नेतृत्व चयनतर्फ मार्गनिर्देशन गर्ने देखिन्छ।
ट्रेलरमा अभिनेत्री बेनीशा हमाल तथा अभिनेता नरेन खड्का र विनोद न्यौपाने ले युवा पुस्ताको भावना सशक्त रूपमा अभिव्यक्त गरेको देखिन्छ।
दिनेश कोइराला को कथा तथा निर्माण, कल्पना पौडेल को प्रस्तुति र सूर्यकान्त कोइराला तथा महेश कोइराला सहनिर्माता रहेको यस फिल्ममा बेनीशा हमाल, नरेन खड्का, विनोद न्यौपाने, सरोज खनाल, रमेश बुढाथोकी, नीर शाह, हेमन्त बुढाथोकी, शिशिर वाङ्गेल, जेएन घिमिरे, गीता अधिकारी र मानश्री शर्मासहित रविन्द्र खड्का विशेष भूमिकामा देखिएका छन्। नव–नायिकाका रूपमा मिरा पण्डित ले यस फिल्मबाट डेब्यु गरेकी छन्।
आगामी माघ ९ गतेदेखि देशभरका सिनेमा हलहरूमा प्रदर्शनमा आउन लागेको ‘बिगुल’ को छायांकन शिव ढकाल ले गरेका हुन् भने सम्पादन तारा थापा ‘किम्भे’ ले गरेका छन्। फिल्मका गीतमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा, अर्जुन पोखरेल र मनोज चौलागाईं को संगीत रहेको छ।
फर्स्टलुक पोस्टर, टिजर र गीत सार्वजनिक भएसँगै चर्चामा रहेको ‘बिगुल’ ले मनोरञ्जनसँगै समाज र देशप्रति आम नेपालीलाई सचेत र सजग बनाउने विश्वास निर्देशक कोइरालाले व्यक्त गरेका छन्।


