काठमाडौँ । चलचित्र ‘गोबर गणेश’ को ट्रेलर युट्युब ट्रेन्डिङको एक नम्बरमा पुगेको छ। शुक्रबार सार्वजनिक गरिएको ट्रेलर छोटो समयमै दर्शकको व्यापक रुचि पाउँदै ट्रेन्डिङको शीर्ष स्थानमा उक्लिएको हो।
आमा–छोराबीचको भावनात्मक सम्बन्ध र छोराले सहरमा गरेको संघर्षलाई केन्द्रमा राखिएको ट्रेलरलाई दुई दिनमै २१ लाखभन्दा बढी पटक हेरिएको छ। दर्शकहरूले ट्रेलरलाई मन परेको प्रतिक्रिया दिइरहेका छन्।
ट्रेलरले अहिलेसम्म ६५ हजारभन्दा बढी लाइक र १२ सयभन्दा बढी कमेन्ट प्राप्त गरेको छ। कमेन्टहरूमा कथावस्तु मन परेको र चलचित्र राम्रो हुने अपेक्षा गरिएको देखिन्छ। कमेडीको फ्लेबर मिसिएको ट्रेलरले दर्शकलाई थप आकर्षित गरेको निर्माण टिमको विश्वास छ।
नेपाली चलचित्रको ट्रेलर युट्युब ट्रेन्डिङको एक नम्बरमा आउनु लामो समयपछि भएको उल्लेखनीय उपलब्धि मानिएको छ। यसले चलचित्र ‘गोबर गणेश’ प्रति दर्शकको उत्सुकता र प्रतीक्षा स्पष्ट पारेको छ।
“दर्शकले दिनुभएको यो मायाले हामीलाई थप उत्साहित बनाएको छ,” निर्देशक मरिचमान श्रेष्ठ (बल्छी धुर्वे) भन्छन्, “चलचित्रलाई पनि यत्तिकै माया गर्नुहुनेछ भन्ने हाम्रो विश्वास छ।” आम नेपाली जीवनको कथालाई चलचित्रले उठान गरेकाले धेरै दर्शकले यससँग आत्मीयता महसुस गर्ने उनको भनाइ छ।
चलचित्र ‘गोबर गणेश’ आगामी माघ १ गते प्रदर्शनमा आउँदैछ। बल्छी धुर्वे फिल्म्सको प्रस्तुतिमा निर्माण भएको यस चलचित्रलाई मरिचमान श्रेष्ठ (बल्छी धुर्वे) ले निर्देशन गरेका छन्।
फिल्ममा बल्छी धुर्वे र वर्षा शिवाकोटीसँगै विनोद न्यौपाने, पदम तामाङ, निर्मल शर्मा, लक्ष्मीनाथ तिमलसेना, सन्तोष बानिया, सन्दीप लामा, माओत्से गुरुङ, सीतादेवी तिमल्सिना, पुजन घिमिरे (पुकु), बुद्धि तामाङ, विशाल पहाडी, रमेश बुढाथोकी र स्वस्तिका लामिछानेलगायत कलाकारको अभिनय रहेको छ।
तारानाथ न्यौपाने चिफ एडिटर रहेको चलचित्रमा योगेश काजी शाहको बीजीएम, शंकर पाण्डेको प्रोडक्सन, शिवराम श्रेष्ठको छायांकन र विपीन मल्लको सम्पादन रहेको छ।
टौवा स्टुडियोको पब्लिसिटी डिजाइन रहेको चलचित्रको डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ। नेपालमा चलचित्रको वितरण श्री ब्याकटेस इन्टरटेनमेन्टले गर्नेछ।


