काठमाडौँ । चलचित्र ‘किन लाग्छ माया’ को पहिलो गीत ‘धौले संसार’ सार्वजनिक गरिएको छ । पोस्टर सार्वजनिक गरेपछि निर्माणपक्षले लोक शैलीमा तयार पारिएको यो गीत दर्शकमाझ ल्याएको हो ।
कुबेर तामाङको निर्देशनमा तयार भएको चलचित्रको प्रदर्शन मिति सन् २०२६ लाई तोकिएको छ । सार्वजनिक गीतमा पुष्कर सुनुवार, शान्तीश्री परियार र गोपाल ढकाल ‘छन्दे’ को स्वर रहेको छ । गीतका शब्द डा. अशाबहादुर तामाङ ले लेखेका हुन् भने संगीत पुष्कर सुनुवार कै रहेको छ ।
गीतको भिडियो रामजी लामिछाने को कोरियोग्राफीमा तयार गरिएको छ । भिडियोमा चलचित्रका मुख्य कलाकार सञ्जित भण्डारी, जाहान्वी बस्नेत, ऋचा थापा, मिस पबी, हिउवाला गौतमसँगै नव–नायक स्याडो रियल, उत्तम केसी र सेजल सुवेदी को आकर्षक नृत्य देख्न सकिन्छ । कोरियोग्राफी र प्रस्तुतीले गीतलाई अझै रोचक बनाएको छ ।
चलचित्रमा राजेन्द्र खड्गी, रवि डंगोल, गोपाल ढकाल, सम्रान्त थापा, बेग पहारी, निरोज खुलाल, रामकाजी घिमिरे, सुभाष गजुरेल, रविन्द्र खड्का, सुनिल कटुवाल, विनोद ढकाल, अनु खत्री, सविन बास्तोला, गीता अधिकारी लगायत कलाकारहरूको अभिनय रहेको छ ।
सञ्जित भण्डारी र मोनु खड्का को लगानीमा बनेको चलचित्रलाई आरआर फिल्म्स ले वितरण गर्नेछ । चलचित्रमा राजेन्द्र खड्गी को एक्सन निर्देशन, रामशरण उप्रेती र रामकुमार केसी को छायांकन, बनिष शाह र नविन चौधरी को सम्पादन रहेको छ । पटकथा तथा संवाद रामकाजी घिमिरे ले लेखेका हुन् भने कथा र गीतका शब्द स्याडो रियल का हुन् ।दाजुभाइको कथामा आधारित चलचित्रले दर्शकको मन जित्नेमा निर्माणपक्ष आशावादी देखिएको छ ।


