काठमाडौं , पौष २८
चलचित्र ‘द ब्ल्यू लाइट’ को गीत सार्वजनिक गरिएको छ। निर्माण पक्षले सोमबार युट्युब च्यानल ‘मौरी पिक्चर्स’ मार्फत चलचित्रको गीत सार्वजनिक गरेको हो।‘कुन हावाले’ बोलको गीतमा सितुस्मा अधिकारी को शब्द, एसडी योगी को संगीत तथा सलिना बिके को स्वर रहेको छ।
सपना साकार हुन नपाउँदै भत्किएको संसारको कथा गीतमा व्यक्त गरिएको छ। वाचा गरेर पूरा नगरी टाढा जानेहरूको कथा समेटिएको गीतमा सपना चकनाचुर हुँदाको पीडा र त्यसबाट पैदा हुने छटपटीलाई भावनात्मक रूपमा प्रस्तुत गरिएको छ।
हराएको प्रेमीको खोजी र पर्खाइमा रहेको व्यक्ति कसरी पल–पलमा भत्किँदै जान्छ भन्ने मर्मस्पर्शी कथा गीतले बोकेको छ। चोखो प्रेमको गहिराइमा बस्ने र त्यसको महत्व नबुझ्नेहरूबीचको अन्तरलाई गीतले प्रभावकारी ढंगले उजागर गरेको छ।
गीतको कथालाई भिडियोमार्फत देखाउन आयुष्मान देशराज जोशी, बेनिशा हमाल, अर्पण थापा र सृष्टि श्रेष्ठ ले अभिनय गरेका छन्। वियोगान्त भाव बोकेको गीतले चलचित्रको मूल कथावस्तुको संकेतसमेत गर्छ। प्रेमलाई पूजा गर्ने र खेलवाड ठान्नेबीचको भिन्नता चलचित्रमा महत्वपूर्ण रूपमा प्रस्तुत हुने संकेत गीतबाटै पाइन्छ।
साइकोलोजिकल थ्रिलर जनरामा निर्माण भएको चलचित्र ‘द ब्ल्यू लाइट’ मा बेनिशा हमाल, अर्पण थापा, आयुष्मान देशराज जोशी, सृष्टि श्रेष्ठ सँगै महेश त्रिपाठी र सुरक्षा इटानी मुख्य भूमिकामा छन्। चलचित्रमा बाल कलाकारका रूपमा ग्रिस्मा कटुवाल र सहारा शर्मा को पनि अभिनय रहेको छ।आगामी माघ १६ गते रिलिज हुने यस चलचित्रको निर्देशन बलिराम चौहान ले गरेका हुन्।
स्काइफल पिक्चर्स को प्रस्तुतिमा निर्माण भएको चलचित्रका सह–निर्मातामा भोलानाथ कटुवाल र रमन ग्रे रहेका छन् भने कार्यकारी निर्मातामा छायाकार नरेन्द्र मैनाली र नायिका बेनिशा हमाल छन्।
नरेन्द्र मैनाली कै छायांकन रहेको चलचित्रमा आकाश उखेडा मुख्य सहायक निर्देशक, रेलिजा श्रेष्ठ प्रोडक्सन डिजाइनर तथा दिलीप पन्त निर्माण नियन्त्रक रहेका छन्।


