काठमाडौं । चलचित्र ‘द ब्ल्यू लाइट’को ट्रेलर सार्वजनिक गरिएको छ। निर्माण पक्षले शुक्रबार ललितपुरको लबिम महलमा आयोजित कार्यक्रममा ट्रेलर सार्वजनिक गरेको हो। सार्वजनिक ट्रेलरमा प्रेम, छलकपट, धोका र बदलाको कथा समेटिएको देखिन्छ।
ट्रेलरमा पात्रहरूबीचको सामिप्यता, प्रेम र रोमान्सबाट सुरु भएर धोका र बदलासम्मको यात्रा प्रस्तुत गरिएको छ। प्रेम नपाउँदाको मानसिक तनाव र त्यसले सिर्जना गर्ने घटनाक्रमलाई ट्रेलरले प्रभावकारी रूपमा समेटेको छ। सुरुमा प्रेमिल माहोल देखिए पनि पछि कथा गम्भीर मोडमा प्रवेश गर्दै सस्पेन्स र थ्रिल थपिँदै जान्छ।
यद्यपि चलचित्रको मुख्य कथा ट्रेलरमार्फत पूर्ण रूपमा खुलाइएको छैन। सस्पेन्स कायम राख्न ट्रेलर सफल देखिन्छ। भिजुअल, कलर टोन र प्रस्तुतिले चलचित्रको साइकोलोजिकल थ्रिलर जनरालाई मजबुत रूपमा संकेत गरेको छ।
ट्रेलरमा चलचित्रका अधिकांश कलाकारलाई देख्न सकिन्छ। साइकोलोजिकल थ्रिलर जनरामा निर्माण भएको यस चलचित्रमा बेनिशा हमाल, अर्पण थापा, आयुशमान देशराज जोशी, सृष्टि श्रेष्ठ, महेश त्रिपाठी र सुरक्षा इटानी मुख्य भूमिकामा छन्। बाल कलाकारका रूपमा ग्रिस्मा कटुवाल र सहारा शर्माको पनि अभिनय रहेको छ।
माघ १६ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको ‘द ब्ल्यू लाइट’लाई बलिराम चौहानले निर्देशन गरेका हुन्। यो उनको निर्देशन डेब्यु चलचित्र हो।
स्काइफल पिक्चर्सको प्रस्तुतिमा बनेको यस चलचित्रमा भोलानाथ कटुवाल र रमन ग्रे सह–निर्माता रहेका छन्। कार्यकारी निर्मातामा छायाकार नरेन्द्र मैनाली र नायिका बेनिशा हमाल रहेका छन्।
चलचित्रको छायांकन नरेन्द्र मैनालीले गरेका हुन् भने आकाश उखेडा मुख्य सहायक निर्देशक, रेलिजा श्रेष्ठ प्रोडक्सन डिजाइनर र दिलीप पन्त निर्माण नियन्त्रक रहेका छन्।


