काठमाडौं , माघ ०३
युट्युबमा रिलिज भएको दुई दिनमै नेपाली फिल्म ‘आ बाट आमा’ मा समावेश गीत ‘जाँदैछु नौ डाँडा काटेर’ ले २३ लाखभन्दा बढी भ्युज बटुलेको छ। माघ १ गते सार्वजनिक गरिएको यस गीतले समाचार तयार पार्दासम्म २३ लाख १५ हजारभन्दा बढी भ्युज प्राप्त गरिसकेको छ।
पछिल्लो समय फिल्मका गीतहरूले अपेक्षित दर्शक पाउन नसकिरहेको अवस्थामा यो गीतले छोटो समयमै उल्लेखनीय भ्युज कटाउनु सुखद उपलब्धि मानिएको छ। गीतलाई हालसम्म ७६ हजारभन्दा बढीले लाइक गरेका छन् भने २३ सयभन्दा बढी प्रतिक्रिया आएका छन्। गीत रिलिज भएको एक घण्टाभित्रै तीन लाखभन्दा बढी भ्युज प्राप्त गर्नुले दर्शकको चासो प्रष्ट देखाएको छ।
प्रतिक्रिया दिने अधिकांश दर्शकले गीतले आफूलाई भावुक बनाएको बताएका छन् भने कलाकारहरूको अभिनयको खुलेर प्रशंसा गरेका छन्। गीतको भावले मन नलागि–नलागि परदेशिन बाध्य नेपालीहरूको पीडा बोलेको छ, जसलाई अभिनेता पल शाह, विपना थापा र प्रदीप रावतको सशक्त अभिनयले अझ जीवन्त बनाएको देखिन्छ।
फिल्म ‘ह्रस्व–दीर्घ’ निर्देशन गरेर चर्चामा आएका निर्देशक चन्द्र पन्तले दर्शकको मनोविज्ञान बुझेर नै फिल्म निर्माण गरिएको बताए। उनका अनुसार, देशको वर्तमान यथार्थ कथालाई फिल्मको मूल विषय बनाइएको छ, जसको प्रभाव गीतको भिडियोमा पनि स्पष्ट देखिन्छ।
गीतको भिडियोमा पल शाह, विपना थापा, प्रदीप रावत, साइग्रेस पोखरेल, उषा उप्रेती, सिम्रन पन्त लगायत कलाकारहरूको अभिनय रहेको छ, जसलाई दर्शकले सकारात्मक रूपमा लिएका छन्। किरण परियार र शान्तीश्री परियारको स्वर रहेको यस गीतमा अभि सुनारको शब्द तथा संगीत छ। सुरिलो गायन र भावनात्मक शब्द–संगीतले गीतलाई अझ प्रभावशाली बनाएको छ।
आर्या इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्माण भएको फिल्मको कथा तथा पटकथा निर्देशक चन्द्र पन्तले नै लेखेका हुन्। फिल्ममा विपना थापा, पल शाह, प्रदीप रावत, उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल, रबिन्द्र झा, गजित बिष्ट, बेगम नेपाली लगायत कलाकारहरूको मुख्य भूमिका रहेको छ।
फिल्ममा कोशिस क्षेत्री, बाबुल गिरी र थानेश्वर गौतमको संगीत रहेको छ भने गायनमा शान्तीश्री परियार, रवि ओड, किरण परियार र यमन श्रेष्ठको स्वर समावेश छ। गीतका नृत्य निर्देशन गंभीर बिष्ट र दिलिप ओखेडाले गरेका हुन्। नवराज उप्रेतीको छायांकन रहेको फिल्मको संवाद लेखनमा अमर न्यौपाने, अभिमन्यू निरवी र चन्द्र पन्तले सहकार्य गरेका छन्।
फिल्ममा कृष्ण प्रसाद सुवेदी, ओमकार पन्त, प्रकाशजंग कुँवर, ध्रुव प्रसाद न्यौपाने र क्षितिज ढुंगानाको लगानी रहेको छ भने करण सिंह रसाली कार्यकारी निर्माता हुन्। सम्पादन मिलन श्रेष्ठले गरेका छन् भने ट्रेलर र टिजर साहिल खानले निर्माण गरेका छन्।
नेपालमा फिल्मको प्रदर्शन अधिकार आरआर फिल्म्ससँग रहेको छ भने डिजिटल अधिकार ओएसआर डिजिटलसँग सुरक्षित गरिएको छ। फिल्म माघ १६ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा छ।


