काठमाडौं । माघ २३ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको वर्षकै प्रतीक्षित प्रेमकथानक चलचित्र **‘कुमारी’**ले आफ्नो प्रचार–प्रसारलाई आक्रामक र साङ्गीतिक बनाएको छ। देशका प्रमुख सहरहरूमा साङ्गीतिक माहौल सिर्जना गर्दै हिँडेको निर्माण टोलीले आगामी माघ १० गते शनिबार साँझ ५ बजे काठमाडौंको भृकुटीमण्डपस्थित खुला स्थानमा भव्य साङ्गीतिक कार्यक्रम आयोजना गर्ने भएको छ। सोही कार्यक्रममा चलचित्रको बहुप्रतीक्षित अफिसियल ट्रेलर सार्वजनिक गरिने तयारी गरिएको छ।
यसअघि माघ १ गते नेपालगन्जबाट सुरु भएको साङ्गीतिक यात्रा माघ ३ गते पोखराको लेकसाइड र माघ ६ गते चितवनको नारायणी तिरमा भव्य रूपमा सम्पन्न भइसकेको छ। हजारौँ दर्शकको उत्साहजनक उपस्थितिसँगै सम्पन्न यी कार्यक्रमले चलचित्रप्रति दर्शकको चासो झनै बढाएको निर्माण पक्षको दाबी छ।
पोखरा र चितवनमा प्राप्त सफलतापछि सङ्घीय राजधानी प्रवेश गर्न लागेको ‘कुमारी’ टोलीले भृकुटीमण्डपको कार्यक्रमलाई अझ विशेष बनाउने तयारी गरेको हो।
भृकुटीमण्डपमा आयोजना हुने साङ्गीतिक कार्यक्रममा चलचित्रका पार्श्व गायक केहर सिं लिम्बु र उनको ब्यान्ड ‘केहर एन्ड द लुङा’ को मुख्य प्रस्तुति रहनेछ। साथै, लोकप्रिय महिला गायन समूह **‘इस्त्रीज’**ले पनि आफ्नो प्रस्तुति दिनेछन्। चलचित्रका कार्यकारी निर्माता केदार भुसालका अनुसार यो कन्सर्ट पूर्णतया निःशुल्क रहनेछ। दर्शकलाई चलचित्रका कलाकार र सङ्गीतसँग नजिकबाट जोड्ने उद्देश्यले प्रवेश शुल्क नराखिएको उनले बताए।
ट्रेलर सार्वजनिक कार्यक्रममा चलचित्रका मुख्य कलाकार अबिशेक खड्का र आकृति राजभण्डारी, निर्देशक दिनेश राउत, सम्पूर्ण चलचित्र युनिटका सदस्यहरू, विभिन्न सेलिब्रेटी, पत्रकार तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहने जनाइएको छ। निर्देशक राउतले मोफसलमा देखिएको दर्शकको अभूतपूर्व माया र उत्साहले आफूलाई निकै उत्साहित बनाएको बताएका छन्।
विनिश इन्टरटेन्मेन्टको ब्यानरमा महेन्द्र अधिकारीद्वारा निर्मित तथा विकास सुवेदीद्वारा लिखित यस चलचित्रको साङ्गीतिक यात्रा काठमाडौंपछि माघ १७ गते झापाको दमक पुगेर समापन हुनेछ।
चलचित्रमा समावेश गीत ‘डोको बुन्ने’ ले युट्युबमा मात्र करिब आधा करोड भ्युज पार गरिसकेको छ भने टिकटक तथा रिल्समार्फत लाखौँ प्रयोग भइसकेका छन्। यसअघि सार्वजनिक भएका ‘कता छौ मेरो फूल’ र ‘तिमी बिना’ जस्ता गीतहरूले पनि राम्रो चर्चा कमाइसकेकाले माघ १० गते सार्वजनिक हुने ट्रेलरप्रति दर्शकमाझ उच्च उत्सुकता देखिएको छ।


