काठमाडौं, १२ माघ ।नयाँ चलचित्र ‘मायाको गाउँ’ मा समावेश गरिएको ‘सबले भन्छन् जिन्दगी त…’ बोलको गीत सार्वजनिक गरिएको छ। प्रोसेस पाण्डेको स्वर, अनिल खनालको शब्द र अर्जुन पोखरेलको संगीत रहेको उक्त गीतको भिडियो सोमबार साइराम पिक्चर्स को युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
पछिल्लो समय टिकटकमा निकै चर्चामा रहेको यस गीतको भिडियोमा त्रिविक्रम सिंह राणा, ओसिन भट्टराई, राजु गिरी, नारायण पराजुली, विनयराज पौडेललगायत कलाकारहरूको अभिनय देख्न सकिन्छ। गीतको कोरियोग्राफी राजु गिरीले गरेका हुन्। भिडियोमा प्रेम सम्बन्ध, धोका र पीडाको भावनालाई सशक्त रूपमा प्रस्तुत गरिएको छ।
प्रेमकथामा आधारित चलचित्र ‘मायाको गाउँ’ मा त्रिविक्रम सिंह राणा, शीतल केसी, नारायण पराजुली, ओसिन भट्टराई, सरु कार्की, अम्बिका थापा, लक्ष्मीनाथ तिमिल्सिना, रमेश अधिकारी, माधव खनाल, किमजोङ बोस, हरिबहादुर घर्ती मगर, रितिका मगर, कृष्ण गदाललगायत कलाकारहरूको अभिनय रहेको छ।
कमला पराजुली निर्माता रहेको चलचित्रको निर्देशन कमला फिल्म्स टिम ले गरेको हो। रामेश्वर हुमागाईंले छायांकन गरेको चलचित्रको सम्पादन श्याम रानाले गरेका छन्। बिनोद बमको पब्लिसिटी डिजाइन रहेको चलचित्रको कलर ग्रेडिङ पेन सिजर्स एण्ड रेन्डर्सका गौतमराज खड्काले गरेका हुन्। चलचित्रका मुख्य सहायक निर्देशकमा सुचेन्द्र परियार रहेका छन्।
निर्मात्री कमला पराजुलीका अनुसार चलचित्र २०८३ सालको सुरुवाततिर दर्शकमाझ ल्याउने तयारी गरिएको छ।


