काठमाडौं — यही माघ १६ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘आ बाट आमा’ का मुख्य कलाकारहरू पूर्वी नेपालका दर्शकसँग प्रत्यक्ष भेटघाट गर्न हल भिजिटमा निस्किने भएका छन्। मंगलबार बिहानैदेखि चलचित्रको टिम इटहरी, धरान, विराटनगर, दमक तथा बिर्तामोड का विभिन्न सिनेमा हलमा पुग्ने कार्यक्रम रहेको छ।
चलचित्रका निर्देशक चन्द्र पन्त का अनुसार मुख्य कलाकार पल शाह, बिपना थापा, उषा उप्रेती, सिम्रन पन्त र साइग्रेस पोखरेल सहितको टिम पूर्वका हलमा दर्शकसँग भेटघाट गर्न जानेछ। हलमा पुगेका दर्शकसँग प्रत्यक्ष भेटेर प्रतिक्रिया लिने कार्यक्रम समेत रहेको निर्देशक पन्तले जानकारी दिए।
शुक्रबारदेखि प्रदर्शनमा आएलगत्तै चलचित्रका कलाकारहरू पल शाह, बिपना थापा, प्रदीप रावत, उषा उप्रेती, सिम्रन पन्त लगायत अन्य कलाकार विभिन्न हल भिजिटमा सक्रिय छन्। दर्शकबाट फिल्मले सकारात्मक प्रतिक्रिया पाइरहेको निर्माण टिमको भनाइ छ।
अभिमन्यु निरवी द्वारा लिखित संवादमा अमर न्यौपाने, अभिमन्यु निरवी र चन्द्र पन्त ले सहकार्य गरेको यो चलचित्र आर्या इन्टरटेन्मेन्ट को प्रस्तुतिमा निर्माण गरिएको हो। फिल्ममा बिपना थापा, पल शाह, प्रदीप रावत, उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल, गजित बिष्ट र बेगम नेपाली लगायत कलाकारहरूको मुख्य भूमिका रहेको छ।
निर्देशक पन्तकै कथा तथा पटकथा रहेको फिल्ममा कोशिस क्षेत्री, बाबुल गिरी र थानेश्वर गौतम को संगीत रहेको छ। गीतका भिडियोमा गंभीर बिष्ट र दिलिप ओखेडा को कोरियोग्राफी छ।
नवराज उप्रेती को छायाङ्कन रहेको यस फिल्ममा कृष्णप्रसाद सुवेदी, ओमकार पन्त, प्रकाशजंग कुँवर, ध्रुवप्रसाद न्यौपाने र क्षितिज ढुंगाना को लगानी रहेको छ। कार्यकारी निर्माता करण सिंह रसाली हुन्।
फिल्मको सम्पादन मिलन श्रेष्ठ ले गरेका छन् भने ट्रेलर र टिजरको निर्माण साहिल खान ले गरेका हुन्। चलचित्रको वितरण आरआर फिल्म्स ले गर्दैछ भने डिजिटल अधिकार ओएसआर डिजिटल को रहेको छ।


