काठमाडौं — अभिनेता आकाश श्रेष्ठ पछिल्लो समय सिनेमाभन्दा म्युजिक भिडियोमा बढी व्यस्त देखिएका छन्। उनी अन्तिम पटक गत मंसिर १२ गतेबाट प्रदर्शनमा आएको सिनेमा ‘हर्ष’ मा विशेष भूमिकामा देखिएका थिए। त्यसपछि उनी रुपेश तामाङको निर्देशनमा निर्माण हुने एक अनटाइटल सिनेमामा अनुबन्धित भए पनि, हाल उनका हप्तैपिच्छे नयाँ म्युजिक भिडियोहरू सार्वजनिक भइरहेका छन्।
विशेषगरी अभिनेत्री करुणा श्रेष्ठसँग उनको जोडी दर्शकमाझ चर्चित बन्दै गएको छ। यही जोडीको नयाँ म्युजिक भिडियो ‘तिम्रो स्पर्श’ हालै सार्वजनिक गरिएको हो।
गीतमा सुरज राज खत्रीको शब्द रचना, संगीत संयोजन र स्वर रहेको छ। भिमफेदी गाइजका निर्मल कुमार लामाको निर्देशनमा तयार भएको भिडियोमा आकाश र करुणालाई रोमान्टिक अवतारमा नृत्य गर्दै प्रस्तुत गरिएको छ।
आरोह रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको यस गीतको अडियो निर्माता किरण आले मगर हुन् भने प्रवेश खत्री प्रोजेक्ट म्यानेजर रहेका छन्। भिडियोको छायांकन पवन सुस्लिङले गरेका हुन्, जसले नै सम्पादन र कलरको काम पनि सम्हालेका छन्।
लगातार सार्वजनिक भइरहेका म्युजिक भिडियोहरूले आकाश श्रेष्ठलाई दर्शकमाझ पुनः सक्रिय रूपमा उपस्थित गराइरहेका छन्।


