काठमाडौं – आगामी फागुन २९ गते प्रदर्शनमा आउने मिति तय गरिएको नेपाली चलचित्र ‘लालिमा’को टिजर सार्वजनिक गरिएको छ।निर्माण पक्षले मंगलबार साँझ ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत टिजर सार्वजनिक गरेको हो।
सार्वजनिक टिजरमा चलचित्रकी शीर्ष नायिका रोशनी कार्की एकल रूपमा प्रस्तुत भएकी छन्। टिजरमा उनी कोठाभित्र मानसिक तनाव र पीडामा परेर छट्पटाइरहेको दृश्यमा देखिन्छिन्, जसले चलचित्रको गम्भीर र संवेदनशील कथावस्तुको संकेत गर्छ।
टिजरले फिल्मको कथालाई सस्पेन्समै राख्दै दर्शकको जिज्ञासा थप बढाएको छ।
चलचित्रका लेखक तथा निर्देशक रोशन मिराजका अनुसार ‘लालिमा’ तीन हजारभन्दा बढी यौनकर्मीहरूको जीवन अनुभवमा आधारित घटनाबाट प्रेरित भएर निर्माण गरिएको हो।
फिल्ममा रोशनी कार्कीका साथै शिशिर वाङ्देल, जीवन भट्टराई, उषा रजक र सुष्मा निरौला लगायत कलाकारहरूको अभिनय रहेको छ।फेथ आस्थाको ब्यानरमा निर्माण भएको यस चलचित्रको कार्यकारी निर्माता रीना लामा हुन्।


