चितवन – प्रतिनिधिसभा निर्वाचनको माहोल तातेका बेला चितवन क्षेत्र नं. ३ मा रेनु दाहाल को पक्षमा पार्टी प्रवेशको लहर बढ्दै गएको छ। विकास र समृद्धिको एजेन्डासहित चुनावी मैदानमा उत्रिएकी दाहाललाई समर्थन गर्दै नेपाली कांग्रेस का दुई युवा नेता नेपाल कम्युनिस्ट पार्टी मा प्रवेश गरेका हुन्।
कांग्रेसका युवा नेता राजकुमार तामाङ र बुद्ध घिसिङ ले पार्टी परित्याग गर्दै नेकपा प्रवेश गरेको घोषणा गरेका छन्। उनीहरूले रेनु दाहाललाई विजयी गराउन सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
राजकुमार तामाङले विज्ञप्ति जारी गर्दै नेपाली कांग्रेसमा विभिन्न जिम्मेवारी सम्हाल्दै लामो समय काम गरेको उल्लेख गरे। तर, आजको मितिदेखि साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेको घोषणा गर्दै अब नेकपामार्फत रेनु दाहाललाई जिताउन लाग्ने बताए।
रेनु दाहाल ‘तारा’ चुनाव चिन्हमार्फत उम्मेदवार रहेकी छन्। उनले भरतपुर विकास मोडललाई देशव्यापी रूपमा विस्तार गर्ने लक्ष्यसहित आफू चुनावी प्रतिस्पर्धामा उत्रिएको बताएकी छन्। युवा पुस्ताको साथले अभियान थप सशक्त बनेको उनको प्रतिक्रिया छ।
चितवन–३ मा पछिल्लो समय बढ्दै गएको पार्टी प्रवेशको क्रमले चुनावी प्रतिस्पर्धा अझ रोचक र प्रतिस्पर्धात्मक बन्ने संकेत देखिएको छ।


