काठमाडौं — फिल्म ‘मितज्यू’ को गीत ‘गैराघरे काँइली’ ले दर्शकको साथ कायम राख्दै डिजिटल प्लेटफर्ममा शीर्ष स्थान कब्जा गरेको छ। युट्युबमार्फत सार्वजनिक भएको छोटो समयमै गीत ट्रेन्डिङ वानमा पुग्न सफल भएको हो।
गीतमा दयाहाङ राई, सौगात मल्ल र तेरिया फौजा मगर को उपस्थितिले आकर्षण बढाएको छ। विशेषगरी सौगात र तेरियाको नृत्य तथा दयाहाङको अभिनयलाई दर्शकले रुचाएका छन्।
श्रीकृष्ण बम मल्ल र मेलिना राई को स्वरमा रहेको गीतको शब्द तथा संगीत पनि मल्लकै रहेको छ। लोकलयमा आधारित गीतलाई दर्शक–श्रोताले अत्यधिक मन पराइरहेका छन्।
मिङ्मा डि लेप्चाको कोरियोग्राफीमा तयार गीतले गाउँले परिवेश र कथालाई जीवन्त बनाएको छ।
अनिल बुढा मगरको निर्देशनमा बनेको फिल्म ‘मितज्यू’ जेठ ८ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ। जनक घर्ती मगरको निर्माणमा बनेको फिल्ममा दयाहाङ राई, सौगात मल्ल, तेरिया मगर लगायत कलाकारको अभिनय रहेको छ।


