काठमाडौं, बैशाख १४
आगामी जेठ १ गतेबाट प्रदर्शनमा आउन लागेको सिनेमा एक मुठ्ठी बादलको मर्मस्पर्शी ट्रेलर सार्वजनिक भएको छ। आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा अभिनेत्री आँचल शर्माको शीर्ष भूमिका रहेको यस सिनेमाको ट्रेलरले कथावस्तु, चरित्र चित्रण र केन्द्रीय द्वन्द्वलाई प्रभावकारी रूपमा प्रस्तुत गरेको छ।
करिब २ मिनेट लामो ट्रेलरमा निर्देशक सहारा शर्माले विवाह र सम्बन्धका विषयलाई परिवारभित्रको जटिल मनोविज्ञानसँग जोडेर देखाएकी छन्। मुख्य पात्र आँचल विवाहप्रति असन्तुष्ट देखिन्छिन् भने परिवारले भने उनको विवाहलाई सामाजिक प्रतिष्ठासँग जोडेर हेरेको छ। यही द्वन्द्वबीच सम्बन्ध, अपेक्षा र भावनात्मक उतारचढावले ट्रेलरलाई थप रोचक बनाएको छ।
सिनेमामा आँचलसँगै निशा शर्मा, उषा रजक, भिमा मैनाली, अस्मिता गौतम, शेखर चापागाईँ, मनिष निरौला, सहयोग अधिकारी, गौरव विष्ट र अविरलप्रताप अधिकारीलगायत कलाकारहरूको अभिनय रहेको छ। विशेष कुरा, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकी कुलपति समेत रहेकी निशा शर्मा करिब तीन दशकपछि यही सिनेमाबाट अभिनयमा फर्किएकी हुन्।
गौंथली इन्टरटेनमेन्ट र मन प्रडक्सनको निर्माणमा बनेको यस सिनेमामा अभिमन्यु दीक्षित निर्माता तथा निकुन श्रेष्ठ कार्यकारी निर्माताका रूपमा रहेका छन्। अन्तर्राष्ट्रिय सहकार्यसमेत रहेको यस फिल्ममा जर्मनीकी सारा फाजिलात, सामीप्य राज तिमल्सेना र अनुप पौडेल निर्माण टोलीमा आबद्ध छन्। थाइल्यान्डको ह्वाइट लाइटले कलर ग्रेडिङ गरेको फिल्ममा भियतनामकी लिन्ह डान गुयेन फानको छायांकन र भारतकी दीपा भाटियाको सम्पादन रहेको छ।
भावनात्मक कथा, बलियो अभिनय र अन्तर्राष्ट्रिय प्राविधिक टिमको संयोजनले ‘एक मुठ्ठी बादल’ले दर्शकमाझ विशेष अपेक्षा जगाएको देखिन्छ।


