काठमाडौं । निर्देशक लक्ष्मण रिजालको सिनेमा ‘काजी’को पहिलो गीत ‘वारि बर पारि पीपलु’ सार्वजनिक गरिएको छ। बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममार्फत निर्माण टिमले गीत सार्वजनिक गर्दै सिनेमाको कथा झल्काउने प्रयास गरेको हो।
गीतमा चर्चित संगीतकार कालीप्रसाद बास्कोटाको शब्द तथा संगीत रहेको छ भने गंगा सोनाम र करण परियारले स्वर दिएका छन्। नेपाल आइडल विजेता गंगाको यो सिनेमा पार्श्व गायनमा डेब्यु हो।
गीतको भिडियोमा अभिनेता विपीन कार्की र अभिनेत्री केकी अधिकारी नवविवाहित जोडीको रूपमा देखिएका छन्। उनीहरूको प्रेमिल सम्बन्ध र दैनिकीलाई केन्द्रमा राख्दै भिडियो निर्माण गरिएको छ। बिहानको पूजा–पाठदेखि खेतबारीसम्मका दृश्य समेटिएको गीतमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ।
रिजाल एन्ड रिजाल प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमाका प्रस्तुतकर्ता राम प्रसाद रिजाल हुन्। सिनेमामा विपीन र केकीसँगै गरिमा शर्मा, हेमन्त बुढाथोकी, प्रकाश घिमिरे, विशाल पहारी लगायतका कलाकारको अभिनय रहेको छ।
निर्माण टिमका अनुसार ‘काजी’ भावनात्मक तथा सामाजिक कथामा आधारित सिनेमा हो, जसले मानवीय सम्बन्ध, माया र जिम्मेवारीका विभिन्न पाटालाई उजागर गर्नेछ।यो सिनेमा आगामी जेठ ८ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा रहेको छ।


