काठमाडौं । गायिका तथा मोडल करुना राइको स्वर र अभिनयमा तयार भएको ‘ज्यू ज्यू सोल्टी’ बोलको गीत सार्वजनिक गरिएको छ। राजधानीमा आयोजित एक कार्यक्रमबीच रोमान्टिक शैलीको यो गीत दर्शकमाझ ल्याइएको हो।
गीतमा करुना राइसँगै राजकुमार बगरको स्वर रहेको छ भने शब्द हरि सापकोटा र संगीत शंकर बराइलीको रहेको छ। पूर्वेली शैलीमा तयार पारिएको यस गीतको भिडियोमा महानायक राजेश हमाल र करुना राइको आकर्षक अभिनय देख्न सकिन्छ।
देवेन्द्र पाण्डेको निर्देशन तथा कोरियोग्राफी रहेको भिडियोमा रामकृष्ण चौलागाइले छायांकन गरेका छन् भने सम्पादन विकास दाहालले गरेका छन्।
गीत सार्वजनिक कार्यक्रमकै अवसरमा गायिका करुना राइको जन्मदिन पनि मनाइएको थियो। कार्यक्रममा विशेष अतिथिका रूपमा उपस्थित धिरेन शाक्यले करुनालाई शुभकामना दिएका थिए।
कार्यक्रममा बोल्दै राजेश हमालले म्युजिक भिडियो र फिल्म दुवै कलाको महत्वपूर्ण पाटो भएको उल्लेख गर्दै कलाकारले विविध विधामा काम गर्न सक्नुपर्ने बताए। करुना राइले भने हमालसँग पाँचौं पटक सहकार्य गर्न पाउनु आफ्नो लागि महत्वपूर्ण अवसर भएको बताइन्।


