काठमाडौं — अभिनेता सलिमान बनियाँले आफ्नो जन्मदिनको अवसर पारेर अभिनित नयाँ फिल्म ‘युनीभर्सटी अफ गुण्डाज्’को टिजर सार्वजनिक गरेका छन्। एक्सन जनरामा निर्माण भएको फिल्मको टिजर ओएसआर डिजिटलमार्फत रिलिज गरिएको हो।
१ मिनेट १२ सेकेन्ड लामो टिजरमा सलिमानको दमदार एक्सन अवतार देख्न सकिन्छ। फिल्म ‘यात्रा’पछि केही समय मौन रहेका उनी यस फिल्ममार्फत फरक शैलीमा पुनः फर्किएको देखिन्छन्। यसअघि ‘लभर ब्वाई’ छविमा देखिँदै आएका उनले यसपटक एक्सन भूमिकामा आफूलाई प्रस्तुत गरेका छन्।
टिजरमा सलोन बस्नेत पनि समान रूपमा एक्सन अवतारमा देखिएका छन्। सलिमान र सलोनबीचको मित्रता तथा ग्याङको कथा टिजरमा संकेत गरिएको छ, जहाँ उनीहरू आफ्नो लक्ष्य हासिल गर्न संघर्षरत देखिन्छन्।
सान्भी इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्मको कथा स्वयं सलिमानले लेखेका हुन् भने निर्देशन सुरेश न्यौपानेले गरेका छन्। फिल्ममा सलिमान र सलोनको मुख्य भूमिका रहेको छ भने अन्य कलाकारबारे निर्माण टिमले हालसम्म जानकारी सार्वजनिक गरेको छैन।
फिल्मको प्राविधिक पक्षमा रोमन बज्राचार्यको ब्याकग्राउण्ड स्कोर, मनोज लामाको मेकअप, मुकेश शाहको साउन्ड डिजाइन, मनोज श्रेष्ठको भिएफएक्स र बन्दे प्रसादको सम्पादन रहेको छ। सौरभ लामाले छायांकन (डीओपी) गरेका छन् भने मन्दिप गौतमले स्क्रिनप्ले तयार पारेका छन्।
निर्माण टिमले फिल्मको प्रदर्शन मिति हालसम्म घोषणा गरेको छैन। दर्शकको प्रतिक्रिया हेरेर थप जानकारी सार्वजनिक गर्ने तयारी रहेको जनाइएको छ।


