चितवन , बैशाख २७ – भरतपुर महानगरपालिकाले शहरभर छरिएर रहेका अव्यवस्थित तारहरू व्यवस्थित गर्ने अभियान सुरु गरेको छ ।
आज आइतबार पुल्चोकदेखि पोखराबसपार्क सडक खण्डमा महानगर र इन्टरनेट सेवा प्रदायक कम्पनीहरूको संयुक्त सहकार्यमा तार व्यवस्थापनको काम थालिएको हो । अभियानमा भरतपुर महानगरपालिकाका इन्जिनियर सुरेश बोटसहित विभिन्न सेवा प्रदायक कम्पनीका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा वर्ल्डलिंक कम्युनिकेसन्स , चितवन युनिक नेट प्रा. लि. , भायानेट कम्युनिकेसन्स लि. , बिग मर्स्याङ्दी नेटवर्क प्रा. लि. , टेकमाइन्ड्स नेटवर्क लि., सुबिसु केबल नेट प्रा. लि. , क्लासिक टेक प्रा. लि. , डिस मिडिया नेटवर्क प्रा. लि. , सीजी कम्युनिकेसन्स लि. , नेपाल टेलिकम , प्राइम नेटवर्क प्रा. लि. , फाइबर वर्ल्ड कम्युनिकेसन्स प्रा. लि. , कनेक्ट नेपाल प्रा. लि. ,सजिलो नेट प्रा. लि.लगायतका कम्पनीहरूको सहभागिता रहेको थियो ।
महानगरपालिकाका अनुसार शहरको सौन्दर्य, यातायात सुरक्षा र अव्यवस्थित संरचना नियन्त्रण गर्न यो अभियान सुरु गरिएको हो । सहभागी कम्पनीहरूले पनि तार व्यवस्थापनमा सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन् । यसैबीच, अभियानमा उपस्थित हुन आह्वान गरिए पनि केही कम्पनी अनुपस्थित रहेको र नगर प्रहरीले त्यस्ता कम्पनीका अव्यवस्थित तार हटाउने काम समेत अघि बढाएको जनाएको छ ।
अनुपस्थित कम्पनीहरूमा वेब सर्फर, ब्रोडलिंक प्रा.लि., एस्किना केबल नेट प्रा.लि. र मेड इन्फोटेक प्रा.लि. रहेका छन् । महानगरले आगामी दिनमा सबै सेवा प्रदायकलाई समेट्दै चरणबद्ध रूपमा शहरभर तार व्यवस्थापन अभियान विस्तार गरिने जनाएको छ ।



