काठमाडौं ।
राष्ट्रपति रामचन्द्र पौडेलले आज अपराह्न सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेकाले त्यसको पूर्वतयारीस्वरुप सिंहदरबारमा पूर्वाभ्यास (रिहर्सल) गरिएको छ ।
पूर्वाभ्यासका क्रममा सङ्घीय संसद् भवन परिसरमा उपसभामुख रुवी कुमारी तथा संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले स्वागत प्रक्रियाको अभ्यास गर्नुभएको थियो । साथै, राष्ट्रपति सवार हुने रिसल्ला सवारी र नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पणको पूर्वाभ्यास गरेको थियो ।
राष्ट्रपतिको सम्मानमा संसद् भवन परिसरलाई राष्ट्रिय झण्डाले सजाइएको छ भने सम्पूर्ण क्षेत्र झकिझकाउ बनाइएको छ ।
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ । नेपालको संविधानको धारा ९५ बमोजिम राष्ट्रपतिले संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुनेछ । त्यसका लागि अपराह्न ४ बजे सङ्घीय संसद्को संयुक्त बैठक आह्वान गरिएको छ ।
संसद् सचिवालयले सङ्घीय संसद्का सदस्यहरुलाई अपराह्न ३ः४५ बजेअघि नै प्रतिनिधिसभा कक्ष (बहुउद्देश्यीय कक्ष)मा उपस्थित हुन आग्रह गरेको छ ।
यसअघि आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिद्वारा प्रस्तुत गरिने नीति तथा कार्यक्रमको सम्बोधनलाई स्वीकृति दिएको थियो ।
त्यसअघि आजै दिउँसो २ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको छुट्टाछुट्टै बैठक बस्ने कार्यसूची रहेको छ । बैठकमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिद्वारा जारी विभिन्न आठ अध्यादेश पेस गरिने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।


