काठमाडौं — जीएम मुभिज प्रोडक्सनको ब्यानरमा निर्माण भएको मितज्यू को ट्रेलर सार्वजनिक गरिएको छ । सोमबार आयोजित पत्रकार सम्मेलनमार्फत निर्माण टिमले फिल्मको ट्रेलर दर्शकमाझ ल्याएको हो ।
सार्वजनिक ट्रेलरमा दयाहाङ राई र सौगात मल्ल गाउँमा नयाँ खुलेको सडकमा गाडी चलाउने चालकको भूमिकामा देखिएका छन् । मितेरी साइनो लगाएका उनीहरूबीच मित्रता पनि छ र प्रतिस्पर्धा पनि । यात्रु छिटो गन्तव्यमा पुर्याउने होड, गाउँले परिवेश, झगडा र भावनात्मक सम्बन्धलाई ट्रेलरले रोचक ढंगले प्रस्तुत गरेको छ ।
ट्रेलरमा तेरिया मगर को पात्रले गाउँले शैलीमा प्रस्तुत गरेको संवादले थप आकर्षण थपेको छ । साथै, मितेरी साइनोलाई सामान्य रूपमा नलिन ज्योतिषीले दिएको चेतावनीले कथामा रहस्य र द्वन्द्वको संकेत गरेको छ ।
फिल्मले नेपाली समाजमा कुनै समय प्रचलित मितेरी साइनोको परम्परालाई मुख्य विषय बनाएको निर्माण पक्षले जनाएको छ । ग्रामीण परिवेश र सम्बन्धको गहिराइलाई समेटेर फिल्म निर्माण गरिएको बताइएको छ ।
अनिल बुढा मगर को निर्देशनमा बनेको फिल्ममा दयाहाङ राई, सौगात मल्ल र तेरिया मगरसँगै पुस्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा, सुवर्ण थापा, अनु थापा लगायत कलाकारहरूको अभिनय रहेको छ ।
यसै फिल्ममार्फत तेरिया मगर ले अभिनेत्रीका रूपमा डेब्यु गरेकी हुन् । फिल्ममा अभिनेत्री रुषा न्यौपानेको विशेष नृत्य समेत समावेश गरिएको छ ।
आरआर फिल्म्सले वितरण गर्ने फिल्म आगामी जेठ ८ गतेबाट प्रदर्शनमा आउँदैछ । निर्माण पक्षका अनुसार फिल्मको प्रदर्शन अधिकार हङकङ, जापान, दक्षिण कोरिया, माल्टा, सिंगापुर र पोल्याण्डमा बिक्री भइसकेको छ ।


