काठमाडौं । नेपाली चलचित्र गौँथली को टिजर सार्वजनिक गरिएको छ। मुख्य पात्रको जीवनकथा समेटिएको टिजरले पारिवारिक सम्बन्ध, वैवाहिक पीडा र आमाको संघर्षलाई मार्मिक रूपमा प्रस्तुत गरेको छ।
सार्वजनिक टिजरमा आमाले छोरीको घर बसाल्न गरेको प्रयास र विवाहपछि छोरीले भोग्नुपरेको पीडालाई देखाइएको छ। पढ्ने रहर हुँदाहुँदै कम उमेरमै विवाह गर्नुपरेकी युवतीले आफूले सोचेभन्दा फरक स्वभावको श्रीमान् पाएपछि जीवनमा भोग्नुपरेको संघर्ष टिजरको मुख्य केन्द्रमा छ।
टिजरले छोरीका लागि आमाको माया र संरक्षण कति महत्वपूर्ण हुन्छ भन्ने देखाउँछ भने बुहारीका लागि सासु घरमा आउने कठिन परिस्थिति पनि चित्रण गरिएको छ। जीवनका लागि लिइएको एउटा निर्णयले कसरी भविष्य तहसनहस बनाउँछ भन्ने भावनात्मक सन्देश टिजरले दिएको छ।
चलचित्रमा अरुण क्षेत्री श्रीमान्को भूमिकामा छन् भने सिम्रन खड्का श्रीमतीको भूमिकामा देखिएकी छन्। अरुणको असामान्य व्यवहार र कलिलो उमेरमै विवाह गरेकी युवतीको पीडाले दर्शकलाई भावुक बनाउने देखिन्छ।
डा. कपिल रिजाल निर्देशित चलचित्र आगामी साउन १ गतेदेखि प्रदर्शनमा आउनेछ। फिल्ममा मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रविन्द्र झा, ईश्वरी बराल, संयोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना र राजेन्द्र नेपालीको अभिनय रहेको छ। बाल कलाकारका रूपमा अंशु ओली र प्रिन्स नेपालीले अभिनय गरेका छन्।
चलचित्रको कथा डा. भोला रिजाल को हो। पटकथा तथा संवाद लेखनमा निर्देशक कपिल रिजालसँगै निश्चल कुँवर, निरज नेपाल र गिरिराज घिमिरेको सहकार्य रहेको छ।
निर्माण पक्षका अनुसार ‘गौँथली’ शब्दले घर, परिवार र आपसी आत्मीयताको प्रतीकात्मक अर्थ बोकेको छ। चलचित्र भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा बनेको हो।
चलचित्रमा शम्भुजीत बासकोटा, थानेश्वर गौतम र प्रशान्त सिवाकोटीको संगीत रहेको छ भने एलिस कार्कीले पाश्र्व संगीत दिएका छन्। हरि हुमागाईंको छायांकन र मिलन श्रेष्ठको सम्पादन रहेको चलचित्रलाई रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफ.डी. कम्पनीले वितरण गर्नेछन्।
उल्लेखनीय कुरा के छ भने, ‘गौँथली’ नाममा दुई दशकअघि डा. भोला रिजालले निर्माण गरेको चलचित्रलाई नेपालको पहिलो ‘गीति फिल्म’ मानिन्छ। अहिले सोही नाममा उनका छोरा डा. कपिल रिजालले नयाँ पुस्ताका लागि नयाँ कथा प्रस्तुत गरेका हुन्।



