काठमाडौं । जिरो डिग्री को फर्स्ट लुक भिडियो सार्वजनिक गरिएको छ। मेघौली फिल्म्सको ब्यानरमा निर्माण भएको डार्क कमेडी चलचित्रले फर्स्ट लुकसँगै आफ्नो प्रदर्शन मिति पनि घोषणा गरेको छ। निर्माण पक्षले चलचित्रलाई यसै वर्षको तिहारमा प्रदर्शन गर्ने जनाएको छ।
सार्वजनिक फर्स्ट लुकमा अभिनेता विजय बराल लाई ‘पुन्य चौलागाईँ’ नामक वडा अध्यक्षको फरक र व्यंग्यात्मक भूमिकामा प्रस्तुत गरिएको छ। “जहाँ समस्या त्यहाँ पुन्य चौलागाईँ” भन्ने संवादसँग सुरु हुने भिडियोले उनी गाउँका चलाख र चतुर जनप्रतिनिधि रहेको संकेत गर्छ।
ढाका टोपी, बाक्लो जुँगा, चस्मा र सुटमा देखिएका विजय बरालको पात्रले भ्रष्टाचार र राजनीतिक दोहोरो चरित्रमाथि कटाक्ष गरेको देखिन्छ। ‘भ्रष्टाचारलाई रोकौँ !’ लेखिएको बोर्डमुनि बसेर पैसा लिइरहेको दृश्यले नेपाली राजनीतिक यथार्थमाथि व्यंग्य प्रहार गरेको संकेत दिन्छ।
त्यस्तै, सेतो घोडामा चढेर हातमा स्ट्यान्ड फ्यान बोकेको दृश्य तथा गाउँलेहरूले पहाडी बाटोमा ठूलो बाकस बोकेर हिँडिरहेको दृश्यले कथालाई थप रहस्यमय बनाएको छ।
चलचित्रको कथा सडक सञ्जाल नपुगेको विकट गाउँमा आमाबुवाको निधनपछि विदेशमा रहेका सन्तान नफर्किएसम्म शव सुरक्षित राख्न ‘डीप फ्रिज’ गाउँ पुर्याउँदा उत्पन्न हुने उथलपुथल र हास्यास्पद घटनामा आधारित रहेको छ।
चलचित्रलाई सजन काफ्ले र आकास बराल ले संयुक्त रूपमा निर्देशन तथा लेखन गरेका हुन्। यसअघि उनीहरूले बेहुली फ्रम मेघौली निर्देशन गरेका थिए।
कास्कीका धिताल गाउँ, अर्मलाकोट, घार्मी र बगर लगायतका स्थानमा छायांकन गरिएको चलचित्रमा विजय बरालसँगै प्रकाश घिमिरे, राजन भुसाल, सनिशा भट्टराई, वसुन्धरा भुसाल, रमेश बुढाथोकी, लोकेन्द्र लेखक र सन्जोग रसाइली लगायत कलाकारको अभिनय रहेको छ।
मोती कार्की कार्यकारी निर्माता रहेको चलचित्रलाई निशाल पौडेलले खिचेका हुन् भने चानस पुन मगरको सम्पादन, राजेन्द्र मोक्तानको रंग संयोजन र अङ्कित बाबु अधिकारीको संगीत रहेको छ।
चलचित्रलाई काठमाडौं उपत्यका बाहिर कुबेर सिने डिस्ट्रिब्युसन र उपत्यकाभित्र डि सिएन ले वितरण गर्नेछन्।



