काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा भावनात्मक कथा र सामाजिक सन्देश बोकेको नयाँ गीत मेरो आफ्नै संसार सार्वजनिक गरिएको छ। सर्जक शंकर पाण्डे ‘मुक्ति’ को प्रस्तुति रहेको गीत बिहीबार मानव सेवा आश्रम मा आयोजित विशेष समारोहबीच सार्वजनिक गरिएको हो।
कार्यक्रममा चलचित्र विकास बोर्ड का अध्यक्ष दिनेश डिसी प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा उपस्थित अतिथिहरूले गीत र भिडियोको प्रशंसा गर्दै यसले नेपाली संगीत क्षेत्रमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरेका थिए।
जीवन, परिवार, सम्बन्ध र आफ्नोपनको भावलाई केन्द्रमा राखेर तयार गरिएको गीतमा चर्चित गायक प्रमोद खरेल को स्वर रहेको छ। गीतका शब्द स्वयं शंकर पाण्डे ‘मुक्ति’ले लेखेका हुन् भने संगीत सन्तोष श्रेष्ठ ले भरेका छन्। आधुनिक संगीत र भावनात्मक शब्द संयोजनले गीतलाई विशेष बनाएको निर्माण पक्षको विश्वास छ।
गीतको भिडियो निर्देशक माधवराज खरेल ले तयार गरेका हुन्। भिडियोमा पारिवारिक सम्बन्ध, संघर्ष र जीवनका विविध आयामलाई कलात्मक ढंगले प्रस्तुत गरिएको छ।
भिडियोमा दीपेन्द्र सोनम, समिया कार्की, ज्योत्स्ना घिमिरे, रश्मि भट्ट, वसन्तराज रिजाल लगायत कलाकारको अभिनय रहेको छ। साथै बाल कलाकार आयुश पाण्डे, मीरु पराजुली, समझ पाण्डे, अमानी पाण्डे र आर्जन पाण्डेको अभिनयले भिडियोलाई थप जीवन्त बनाएको छ।
अजय रेग्मीको छायांकन र विनोद बमको सम्पादन रहेको भिडियोमा सरिता मगरको श्रृंगार देख्न सकिन्छ। कार्यक्रममा सहभागीहरूले भिडियोको दृश्य संयोजन, अभिनय र कथावस्तुले दर्शकलाई भावुक बनाउने प्रतिक्रिया दिएका थिए।
कार्यक्रममा बोल्दै शंकर पाण्डे ‘मुक्ति’ले गीत मनोरञ्जनका लागि मात्र नभई समाजप्रतिको उत्तरदायित्वबोधका साथ तयार गरिएको बताए। भिडियोबाट प्राप्त आम्दानीको केही हिस्सा समाजसेवामा खर्च गरिने घोषणा गर्दै उनले कला र मानवीय सेवाबीचको सम्बन्धलाई अझ मजबुत बनाउन चाहेको धारणा राखे।
कार्यक्रममा नेपाल चलचित्र कलाकार संघ का अध्यक्ष उत्तम केसी, अभिनेता श्रीदेव भट्टराई, गीता अधिकारी, श्वस्तीका पन्थी, विश्व देवकोटा, जितेन्द्रकुमार श्रेष्ठ, डोल्पा शेर्पा तथा ओएसआर डिजिटल का ओम अग्रवाललगायतको उपस्थिति रहेको थियो।
कार्यक्रमको अन्त्यमा गीत तथा भिडियो निर्माणमा योगदान पुर्याउने व्यक्तित्वहरूलाई मायाको चिनो प्रदान गरिएको थियो।



