१९ जेठ, । उच्च अदालत पोखराले पल शाहलाई थुनामै राखेर बलात्कार मुद्दाको प्रक्रिया अघि बढाउने जिल्लाको आदेशलाई सदर गरेको छ ।तनहुँ र नवलपुर जिल्ला अदालतले शाहलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको थियो । त्यसविरुद्ध शाह उच्च उदालत, पोखरामा गएका थिए । बिहीबार न्यायाधीश उज्ज्वल शुक्ल र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले जिल्लाको आदेश सदर गरेको उपरजिष्टार विष्णुप्रसाद आचार्यले जानकारी दिए ।
उहाँले भन्नुभयो, “प्रतिवादी पल शाहलाई मुद्दा पुर्पक्षका लागि थुनामा राख्ने गरी तनहुँ जिल्ला अदालत र नवलपुर जिल्ला अदालतबाट भएको आदेश बेरितको नदेखिँदा परिर्वतन गरिरहनु परेन ।”
अभिनेता शाह एक नाबालिग बलात्कार मुद्दामा तीन महिनादेखि जिल्ला कारागार तनहुँको थुनामा हुनुहुन्छ । कारागार चलान गर्ने तनहुँ जिल्ला अदालतको फैसलाविरुद्ध शाहका वकिलले उच्च अदालतमा निवेदन दिनुभएको थियो । शाहलाई साधारण तारेखमा रिहा गर्नुपर्ने माग उहाँहरुको थियो ।
उच्च अदालतमा सुनुवाइमा निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता कमलामोहन वाग्ले, अधिवक्ता भानुभक्त सुवेदी, माधव घिमिरे, मिलनध्वज शाही र जगदीशचन्द्र पाण्डेले बहस गर्नुभएको थियो ।
यसैगरी सरकारका तर्फबाट उच्च सरकारी वकिलको कार्यालयका सहन्यायाधिवक्ता ईश्वरी ढकाल र उच्च सरकारी वकिल कार्यालयका सहायक न्यायाधिवक्ता अमृत सुवेदीले बहस गर्नुभएको थियो ।


