तपाईको प्रतिक्रिया
काठमाडौँ । चर्चित हास्य कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर’ अभिनीत नयाँ म्युजिक भिडियो ‘बसौँ हजुर’ सार्वजनिक भएको छ। बसन्त थापा मगरको शब्द, संगीत तथा स्वरमा तयार भएको यस रोमान्टिक गीतमा जोगिन्दरलाई मोडल सेजल कँफियासँग फरक शैलीमा प्रस्तुत गरिएको छ।
हास्य अभिनयमार्फत दर्शकमाझ लोकप्रिय बनेका जोगिन्दर यसपटक रोमान्टिक भूमिकामा देखिएका छन्। भिडियोमा जोगिन्दर र सेजलबीचको केमेस्ट्री आकर्षक देखिन्छ। गीत तथा भिडियोले लामो समय विदेश वा बाहिरी बसाइपछि आफ्नै गाउँ फर्किँदाको खुसी, बाल्यकालका साथीभाइसँगको पुनर्मिलन र प्रिय व्यक्तिसँगको आत्मीय सम्बन्धलाई चित्रण गरेको छ।
ग्रामीण परिवेश, हरियाली खेतबारी, नदी किनार तथा परम्परागत नेपाली गाउँघरका रमणीय दृश्यहरूले भिडियोलाई अझ जीवन्त र मनमोहक बनाएका छन्। रामेश्वर हुमागाईं र शौखिन तिमल्सिनाको छायांकन रहेको भिडियोको सम्पादन पनि शौखिन तिमल्सिनाले नै गरेका हुन्।
पछिल्लो समय व्यस्त निर्देशकका रूपमा परिचित समन अधिकारीको निर्देशनमा तयार भएको भिडियो ‘रेस्क्यु क्रिएसन’को ब्यानरमा निर्माण गरिएको हो। नेपाली गाउँघरको मौलिकता, प्रेम र पुराना सम्झनालाई उजागर गर्ने प्रयास गरिएको भिडियोले दर्शक तथा श्रोतामाझ सकारात्मक प्रतिक्रिया पाउने निर्माण पक्षको विश्वास छ।
