काठमाडौं । गायक शिव परियारको स्वरमा नयाँ गीत ‘दिल परानी’ सार्वजनिक भएको छ । प्रेममा धोका खाएपछि उत्पन्न हुने पीडा, बेचैनी र भावनात्मक संघर्षलाई समेटिएको गीतले श्रोतामाझ फरक अनुभूति दिलाउने प्रयास गरेको छ ।
गीतमा राज क्षितिजको शब्द रचना तथा मनोज मालेको संगीत रहेको छ । शिव परियारलाई गायिका अन्नु चौधरीले स्वरमा साथ दिएकी छन् भने संगीत संयोजन विशाल निरौलाले गरेका हुन् ।
प्रेममा टुटेको मनको वेदना र मायाप्रतिको गहिरो भावनालाई गीतका शब्द र संगीतमार्फत प्रस्तुत गरिएको छ । सोही भावलाई दृश्यात्मक रूपमा भिडियोमा समेत उतारिएको छ ।
निकेश खड्काको निर्देशनमा तयार भएको भिडियोमा अभिनेत्री गरिमा शर्मा र मोडल उमेश सोनामको अभिनय देख्न सकिन्छ । उनीहरूको प्रस्तुतिले गीतको भावलाई थप जीवन्त बनाएको छ ।
भिडियोमा दिनेश पराजुलीको छायांकन, विकास दाहालको सम्पादन तथा राजेन्द्र मोक्तानको कलर ग्रेडिङ रहेको छ । सुहाना क्रिएसनको प्रस्तुति रहेको गीतका निर्माता स्वयं शिव परियार हुन् ।
गीतमा जलजला परियार र श्रीषा परियारको कोरस स्वर पनि समावेश गरिएको छ । ‘दिल परानी’ गीत शिव परियारको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।



