चितवन, जेठ ३०
चितवनमा रगतको अभाव न्यूनीकरण गर्ने उद्देश्यले आयोजित ‘दोस्रो ऐतिहासिक रक्तदान महोत्सव–२०८३’ भव्य रूपमा सम्पन्न भएको छ। ब्लड डोनर सोसाइटी नेपाल, जिल्ला शाखा चितवनको आयोजनामा भएको महोत्सवमा १ हजार २२६ जनाले रक्तदान गरेका छन्।
भरतपुरस्थित चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा सम्पन्न बृहत् रक्तदान कार्यक्रममा विभिन्न क्षेत्रका नागरिकहरूको उल्लेखनीय सहभागिता रहेको आयोजकले जनाएको छ।
सोसाइटीका कार्यकारी उपाध्यक्ष रमेश नेपालका अनुसार जिल्लामा नियमित रूपमा देखिने रगत अभावको समस्या समाधानमा टेवा पुर्याउने उद्देश्यले महोत्सव आयोजना गरिएको हो। उनले ‘रक्तदान नै जीवनदान हो’ भन्ने सन्देशलाई व्यापक रूपमा फैलाउन कार्यक्रम सफल भएको बताए।
महोत्सवमा रक्तदाताहरूको उत्साहजनक सहभागितासँगै उनीहरूलाई प्रोत्साहन गर्न विशेष उपहारको व्यवस्था गरिएको थियो। रक्तदान गर्ने सबैलाई ‘फग सेन्ट’ अंकित विशेष कप प्रदान गरिएको थियो भने सेन्टको निःशुल्क परीक्षण गर्ने अवसरसमेत उपलब्ध गराइएको आयोजकले जनाएको छ।
आयोजकका अनुसार महोत्सवले रक्तदानप्रति जनचेतना अभिवृद्धि गर्नुका साथै आवश्यक रगत संकलनमा महत्वपूर्ण योगदान पुर्याएको छ। कार्यक्रमलाई चितवनमा हालसम्मकै ठूलो रक्तदान अभियानमध्ये एक मानिएको छ।



