२१ जेठ,काठमाडौं । बहुप्रतिक्षित चलचित्र ‘प्रेम गीत ३’ नेपाल र भारतमा एकसाथ रिलिज हुने भएको छ । असोज ७ गते यो चलचित्र नेपालसँगै भारतमा पनि रिलिज हुने भएको हो ।
चलचित्रका निर्माता तथा निर्देशन सन्तोष सेनले चलचित्र ‘प्रेम गीत ३’ भारतमा हिन्दी भाषामा ‘विश्वजितम’का नामबाट रिलिज हुने बताए ।चलचित्र भारतसँगै विश्वरभर रिलिज हुनेछ ।
सन्तोषले यो चलचित्र लामो समय मुम्बइमा बसेर हिन्दी भाषामा डबिङ गराएका थिए । उक्त चलचित्र भारतका थिएटरमा पनि रिलिज गर्ने उद्धेश्यले हिन्दीमा डबिङ गराएका थिए । भारतीय चलचित्र वितरकले व्यवसायिक रुपमा नेपाली चलचित्र रिलिज गर्न लागेको यो पहिलो पटक हो ।
छेतेन गुरुङ र सन्तोष सेनले निर्देशन गरेको चलचित्रलाई राजेश श्रेष्ठले खिचेका हुन् । कुमार शान शाह र ओएसआर डिजिटल सह-निर्माता रहेको चलचित्रका निर्माता सन्तोष सेन हुन् ।चलचित्रमा प्रदीप खड्का र क्रिस्टिना गुरुङ ‘प्रेम’ र ‘गीत’ को भूमिकामा छन् । शिव श्रेष्ठ, सुनिल थापा, माओत्से गुरुङ, अनुभव रेग्मी, लक्ष्मी बर्देवा, सन्तोष सेन, प्रेम पुरी, मनिष राउतलगायतको पनि चलचित्रमा अभिनय रहेको छ ।



