चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य चयनका लागि भएको पहिलो चरणको मतदान सम्पन्न भएको छ। केन्द्रीय निर्वाचन आयोगका अनुसार बिहीबार दिउँसो साढे १२ बजे मतदान प्रक्रिया सकिएको हो।
मध्यराति १२ बजेदेखि सुरु भएको विद्युतीय मतदानमा चार हजारभन्दा बढी प्रतिनिधिले सहभागिता जनाएका थिए। निर्धारित समयसम्म मतदान गर्न नसकेका प्रतिनिधिहरूलाई समेत अवसर दिइएकाले प्रक्रिया केही समय लम्बिएको थियो।
महाधिवेशनमा सभापति रवि लामिछानेले पनि मतदान गरेका थिए। उनी मतदान गर्ने अन्तिम प्रतिनिधिमध्ये एक थिए।
रास्वपाको विधानअनुसार पहिलो चरणमा सभापति र केन्द्रीय सदस्य पदका लागि निर्वाचन हुने व्यवस्था छ। सभापति पदमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन् भने केन्द्रीय सदस्यका ९९ पदका लागि मतदान गरिएको हो।
केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार अब मतगणना प्रक्रिया सुरु गरिनेछ। केन्द्रीय सदस्यहरूको अन्तिम परिणाम सार्वजनिक भएपछि उनीहरूमध्येबाट पदाधिकारी चयनका लागि अर्को चरणको निर्वाचन प्रक्रिया अघि बढाइनेछ।
महाधिवेशनबाट चयन हुने नयाँ नेतृत्वले आगामी कार्यकालमा पार्टीको संगठन विस्तार, नीति निर्माण र राजनीतिक दिशालाई अगाडि बढाउने जिम्मेवारी सम्हाल्नेछ।



