काठमाडौं, असार १५ । आगामी असोज २ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘झिंगे दाउ २’ले पहिलो गीत ‘महिमा आमाको’ सार्वजनिक गरेको छ। कपनगढी सिनेमा प्रालि र फिल्म क्रु नेपाल प्रालिको प्रस्तुतिमा निर्माण भएको फिल्मले आमाको माया, त्याग र वृद्धावस्थाको पीडालाई समेटिएको भावुक गीतमार्फत प्रचार अभियानलाई नयाँ चरणमा प्रवेश गराएको हो।
गीतमा प्रमोद खरेल र मनिषा सुनारको स्वर, डा. कृष्णहरि बरालको शब्द तथा अर्जुन पोखरेलको संगीत रहेको छ। गीतका शब्दले आमाको निस्वार्थ माया, त्याग र सन्तानप्रतिको समर्पणलाई सम्मान गर्दै आजको समाजमा धेरै अभिभावक वृद्धाश्रम पुग्न बाध्य हुने यथार्थलाई संवेदनशील ढंगले प्रस्तुत गरेका छन्।
गीतको भिडियोमा विशेष उपस्थितिका रूपमा मदनकृष्ण श्रेष्ठ र मिथिला शर्मालाई देख्न सकिन्छ। साथै आर्यन सिग्देल, हिउँवाला गौतम, बसुन्धरा भुसाल र चैत्यदेवी सिंहलगायत मुख्य कलाकारहरूको पनि भावपूर्ण प्रस्तुति समावेश गरिएको छ। गीतका दृश्यहरूले फिल्मको कथाको भावनात्मक पक्षलाई अझ स्पष्ट बनाउने प्रयास गरेका छन्।
ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको फिल्ममा सुलभ प्रतिक देउजा र समिक्षा देउजाको लगानी रहेको छ। विष्णु घिमिरे ‘कल्पित’को डीओपी, मित्र डी. गुरुङको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी र रोशन श्रेष्ठको द्वन्द्व निर्देशन रहेको फिल्मको यो गीत दृश्यांकनका हिसाबले पनि प्रभावशाली बनेको छ।
कोरियोग्राफर रामजी लामिछानेले गीतको भावलाई न्याय गर्ने गरी दृश्य संयोजन गरेका छन्, जसले गीतलाई अझ मार्मिक बनाएको छ।
फिल्ममा केकी अधिकारी, आँचल शर्मा, महेश त्रिपाठी, कुशल विष्ट, आर्यन सिग्देल, हिउँवाला गौतम, सरोज खनाल, बसुन्धरा भुसाल, चैत्यदेवी सिंह, संगम भण्डारी, विजय देउजा, अंशु महर्जन, अभयराज बराल, उत्तम केसी, शिवहरि वैरागी, आशा भुसाल, रेन प्रधान, विनोदकुमार पौडेल, आशिष पुरुष, विष्णु सापकोटा र नरेन्द्र थापालगायत कलाकारहरूको अभिनय रहेको छ।
परिच्छेद सेनको पटकथा तथा संवाद, गोविन्द फुयाँल र शिशिर चालिसेको लेखन, विवेक बस्नेत र ईश्वर सिंखेमानको छायांकन तथा ईश्वर घिमिरेको प्रोडक्सन व्यवस्थापन रहेको फिल्मले केही दिनअघि सार्वजनिक गरेको पोस्टरबाट समेत सकारात्मक चर्चा बटुलेको थियो। अब पहिलो गीत सार्वजनिक भएसँगै फिल्मप्रतिको दर्शकको उत्साह थप बढ्ने अपेक्षा गरिएको छ।
तीन वर्षअघि प्रदर्शनमा आएको ‘झिंगे दाउ’ले बक्स अफिसमा उल्लेखनीय सफलता हासिल गरेको थियो। त्यसकै निरन्तरताका रूपमा निर्माण भएको ‘झिंगे दाउ २’ले पनि दर्शकको मन जित्ने निर्माण टिमको विश्वास छ। फिल्मलाई एप्पल इन्टरटेनमेन्टले देशभर वितरण गर्नेछ।



