काठमाडौं, असार १५ । राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने पर्वको अवसर पारेर चितवनका गायक तथा संगीतकार सहन प्रधानले नयाँ मौलिक असारे गीत ‘असारे पानी साउने झरी’ सार्वजनिक गरेका छन्।
कृषि संस्कृति, किसानको मेहनत र नेपाली मौलिक परम्परालाई समेटेर तयार पारिएको गीतमा दीपक प्रधानको शब्द, रामचन्द्र काफ्लेको स्वर तथा सहन प्रधानकै संगीत रहेको छ। गीतको संगीत संयोजन विशाल गुरुङले गरेका हुन्।
संगीतकार सहन प्रधानका अनुसार गीतमार्फत नेपाली लोकसंस्कृति र परम्परागत बाजाहरूको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्य राखिएको छ। त्यसैले गीतमा पञ्चेबाजा, नर्सिङ्गा, धिमे, भुस्या, सारङ्गीलगायत नेपाली मौलिक बाजाहरूलाई प्राथमिकता दिइएको उनले बताए।
उनका अनुसार असार १५ केवल रोपाइँको पर्व मात्र नभई किसानको पसिना, खेतको हरियाली र नेपाली समाजको मौलिक पहिचानसँग जोडिएको उत्सव भएकाले गीतमा त्यही भावना उतार्ने प्रयास गरिएको हो।
द रेबल क्रियशनको प्रस्तुतीमा सार्वजनिक गरिएको गीतको म्युजिक भिडियोमा सन्दीप लोहनी, बिना राउतलगायत कलाकारको अभिनय रहेको छ। भिडियोले रोपाइँ, खेतबारी, हिलो खेल्ने परम्परा र असारे उत्सवको जीवन्त दृश्य प्रस्तुत गरेको छ।
भिडियोको निर्देशन शुभम भुजेलले गरेका हुन्। निर्माण टिमले नेपाली कृषि संस्कृति र मौलिक लोकपरम्परालाई नयाँ पुस्तामाझ पुर्याउने उद्देश्यका साथ गीत सार्वजनिक गरिएको जनाएको छ।



