चितवन । आगामी साउन १ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र गौथलीको प्रचारप्रसारका लागि निर्देशक, निर्माता र कलाकारसहितको टोली चितवन आइपुगेको छ।
चितवनमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा निर्देशक डा. कपिल रिजाल, निर्माता सुमन गिरी तथा मुख्य कलाकार अरुण क्षेत्री र सिम्रन खड्काले चलचित्रको विषयवस्तु, निर्माण प्रक्रिया र समाजमा दिन खोजिएको सन्देशबारे जानकारी दिएका हुन्।
कार्यक्रममा निर्देशक डा. कपिल रिजालले चलचित्र निर्माण गर्दा आर्थिक लाभभन्दा पनि कथावस्तु र त्यसले समाजमा पार्ने सकारात्मक प्रभावलाई प्राथमिकतामा राखेको बताए। अटिजमजस्तो संवेदनशील विषयलाई चलचित्रमार्फत प्रस्तुत गरेर समाजमा सकारात्मक बहस सिर्जना गर्ने उद्देश्य रहेको उनको भनाइ थियो।
निर्माता सुमन गिरीले चलचित्रको कथा र सन्देशले आफूलाई प्रभावित पारेपछि लगानी गर्ने निर्णय गरेको बताए। राम्रो कथावस्तु भएकै कारण गौथली’सँग जोडिएको उनको भनाइ थियो।
मुख्य कलाकार अरुण क्षेत्री र सिम्रन खड्काले अटिजमको विषयमा आधारित अर्थपूर्ण चलचित्रमा अभिनय गर्ने अवसर पाउँदा खुसी लागेको बताए। उनीहरूले चलचित्रले मनोरञ्जनसँगै सामाजिक चेतना फैलाउने विश्वास व्यक्त गरे।
डा. भोला रिजालको कथामा आधारित गौथली’मा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रविन्द्र झा, ईश्वरी बराल, सन्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना र राजेन्द्र नेपालीको अभिनय रहेको छ। बाल कलाकारका रूपमा अंशु ओली र प्रिन्स नेपाली देखिएका छन्।
अटिजमको विषयवस्तुलाई केन्द्रमा राखेर निर्माण गरिएको चलचित्रले प्रेम, परिवार, स्वीकार्यता र मानवीय संवेदनाको कथा प्रस्तुत गर्ने निर्माण टिमको भनाइ छ। फरक विषयवस्तु र सिर्जनात्मक प्रचार शैलीका कारण चलचित्र यतिबेला दर्शकमाझ चर्चामा छ।
डा. कपिल रिजालको निर्देशनमा बनेको चलचित्र भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको ब्यानरमा निर्माण भएको हो। चलचित्र आगामी साउन १ गतेदेखि देशभरका सिनेमाघरमा प्रदर्शनमा आउनेछ।



