काठमाडौं । आगामी असार २६ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘भागदौड’को ट्रेलर सार्वजनिक गरिएको छ। निर्माण टिमले आइतबार ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत करिब दुई मिनेट लामो ट्रेलर सार्वजनिक गरेको हो।
ट्रेलरले आधुनिक समाजमा मानिसले भोग्ने निरन्तर संघर्ष, भागदौड र जीवनका जटिल यथार्थलाई चित्रण गरेको छ। लोभ, लालच, ठगी, षड्यन्त्र र नैतिक द्वन्द्वबीच पात्रहरूले गर्ने संघर्षलाई केन्द्रमा राख्दै चलचित्रले सामाजिक सन्देश दिने संकेत ट्रेलरबाट मिल्छ।
ट्रेलरमा अभिनेता विशाल पोखरेल नेपाल प्रहरीको भूमिकामा देखिएका छन्। उनी प्रस्तुत भएको पात्रले कथामा विशेष मोड ल्याउने देखिन्छ। विशालले आफ्नो भूमिका दर्शकका लागि नयाँ अनुभव बन्ने विश्वास व्यक्त गरेका छन्।
चलचित्रमा विशाल पोखरेलसँगै अनीशा श्रेष्ठ, घनश्याम जोशी, सारा राई, शेखर चापागाईं, देशभक्त खनाल, लक्ष्मी गिरी, शंकर महर्जन र सुभाष तिमिल्सिनालगायत कलाकारहरूको अभिनय रहेको छ।
हिमाल उप्रेतीको लेखन तथा निर्देशनमा बनेको चलचित्रका प्रस्तुतकर्ता विश्वराम विष्ट हुन्। निर्माता विष्टले ‘भागदौड’ उत्कृष्ट कथावस्तुमा आधारित चलचित्र रहेको दाबी गर्दै सेन्सर बोर्डबाट प्राप्त सकारात्मक प्रतिक्रियाले निर्माण टिम थप उत्साहित बनेको बताए।
सुप्रिम म्युजिक एण्ड फिल्म्स प्रालिको ब्यानरमा निर्माण भएको चलचित्रकी कार्यकारी निर्माता अंगिरा थापा हुन्। सह–निर्मातामा भूपेन्द्रकुमार खड्का, सागर पुरी र सुरेश गिरी रहेका छन्।
चलचित्रमा दीपक बज्राचार्यको छायाङ्कन, प्रवीन ढकालको सम्पादन तथा वसन्त सापकोटा र प्रकाश नेपालीको संगीत रहेको छ। निर्माण टिमले सामाजिक यथार्थसँग जोडिएको फरक स्वादको कथा लिएर ‘भागदौड’ दर्शकमाझ आउन लागेको जनाएको छ।



