भरतपुर । चितवनको भरतपुरस्थित वैष्णव रेष्टुरेन्टमा परोसेको सागमा शंखेकिरा फेला परेपछि जिल्ला प्रशासन कार्यालय चितवनले रेष्टुरेन्ट तत्कालका लागि बन्द गराएको छ।
रेष्टुरेन्टमा खाना खान पुगेका एक सेवाग्राहीले सागमा शंखेकिरा भेटिएपछि प्रशासनलाई जानकारी गराएका थिए। त्यसपछि प्रशासनको अनुगमन टोलीले रेष्टुरेन्टमा पुगेर निरीक्षण गरेको थियो।
अनुगमनका क्रममा रेष्टुरेन्टमा प्रयोग भइरहेको खाने तेलको गुणस्तरसमेत मापदण्डअनुसार नभएको पाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
प्रशासनका अनुसार रेष्टुरेन्टलाई तत्कालका लागि सञ्चालनमा रोक लगाइएको छ। आवश्यक सुधार गर्ने प्रतिबद्धता, तोकिएको जरिवाना बुझाउने तथा खाद्य सुरक्षा सम्बन्धी मापदण्ड पूरा गरेपछि मात्र पुनः सञ्चालनको अनुमति दिइनेछ।
जिल्ला प्रशासन कार्यालयले खाद्य स्वच्छता र उपभोक्ता सुरक्षामा कुनै सम्झौता नगर्ने स्पष्ट गर्दै होटल तथा रेष्टुरेन्ट व्यवसायीलाई खाद्य सामग्रीको गुणस्तर, सरसफाइ र सेवा व्यवस्थापनमा विशेष ध्यान दिन आग्रह गरेको छ।



