काठमाडौं । आगामी साउन १ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको नेपाली चलचित्र ‘गौँथली’ प्रति दर्शकको उत्साह बढ्दै गएको छ। सार्वजनिक टिजर र ट्रेलरले सकारात्मक प्रतिक्रिया बटुल्दै गएपछि चलचित्र प्रदर्शनअघि नै चर्चाको केन्द्रमा पुगेको हो।
चार दिनअघि सार्वजनिक गरिएको ट्रेलर अहिले युट्युबको नेपाल ट्रेन्डिङमा चलचित्रतर्फ दोस्रो स्थानमा पुगेको छ। ट्रेलरको भावनात्मक कथा, कलाकारको अभिनय र ग्रामीण परिवेशको प्रस्तुतिले दर्शकको ध्यान तानेको देखिन्छ।
सामाजिक सञ्जालमा ट्रेलरप्रति दर्शकले खुलेर प्रशंसा गरिरहेका छन्। धेरैले चलचित्रले बक्स अफिसमा उत्कृष्ट व्यापार गर्ने विश्वास व्यक्त गरेका छन्। एक दर्शकले युट्युबमा टिप्पणी गर्दै लेखेका छन्, “यो चलचित्रले ‘पूर्णबहादुरको सारङ्गी’को रेकर्ड तोड्नुपर्छ।” अर्का दर्शकले “नेपाली फिल्म भनेको यस्तै हुनुपर्छ, ट्रेलरमै मन छोयो” भन्दै शुभकामना दिएका छन्।
विशेषगरी अटिजम भएका युवकको भूमिकामा रहेका अरुण क्षेत्री र उनकी सहकलाकार सिम्रन खड्काको अभिनयले दर्शकबाट व्यापक प्रशंसा पाइरहेको छ। प्रचारप्रसारका क्रममा उनीहरूले गरेको मेहनतको पनि सामाजिक सञ्जालमा चर्चा भइरहेको छ।
धेरै दर्शकले ट्रेलर नै भावुक बनाएको प्रतिक्रिया दिएका छन्। एक दर्शकले “ट्रेलरले नै रुवायो, पूरा फिल्मले त झन् के गर्ला?” भन्दै टिप्पणी गरेका छन्। अर्का दर्शकले कलाकारहरूको अभिनय, संवाद र भावनात्मक प्रस्तुतिले चलचित्रप्रति झन् उत्सुकता बढाएको उल्लेख गरेका छन्।
चलचित्रले अटिजम भएका युवकसँग विवाह गरेकी युवतीले भोग्ने संघर्ष, शिक्षाप्रतिको लगाव, परम्परागत सोचसँगको द्वन्द्व र सामाजिक यथार्थलाई मार्मिक रूपमा प्रस्तुत गरेको छ।
डा. कपिल रिजालको निर्देशन रहेको चलचित्रमा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना र राजेन्द्र नेपालीको अभिनय रहेको छ। बाल कलाकारका रूपमा अंशु ओली र प्रिन्स नेपाली देखिनेछन्।
डा. भोला रिजालको कथामा आधारित चलचित्रको पटकथा तथा संवाद निर्देशक कपिल रिजाल, निश्चल कुँवर, निरज नेपाल र गिरिराज घिमिरेले तयार गरेका हुन्। भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा बनेको चलचित्रका निर्माता सुमन गिरी र डा. कपिल रिजाल हुन् भने कार्यकारी निर्माता सरला रिजाल रहेकी छन्।
शम्भुजीत बासकोटा, थानेश्वर गौतम र प्रशान्त सिवाकोटीको संगीत रहेको चलचित्रमा हरि हुमागाईंको छायांकन, मिलन श्रेष्ठको सम्पादन, एलिस कार्कीको पाश्र्व संगीत तथा रामजी लामिछाने र मौसम हिमालीको कोरियोग्राफी रहेको छ।
रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफ.डी. कम्पनीले वितरण गर्ने चलचित्रको डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ।
उल्लेखनीय रूपमा, ‘गौँथली’ शीर्षकमै डा. भोला रिजालले दुई दशकअघि निर्माण गरेको चलचित्रलाई नेपालको पहिलो ‘गीति फिल्म’ (म्युजिकल फिल्म) मानिन्छ। अहिले सोही नाममा उनका छोरा डा. कपिल रिजालले नयाँ पुस्ताका दर्शकलाई लक्षित गर्दै चलचित्र निर्देशन गरेका हुन्।



